नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मंगलबार सहरी विकासमन्त्री मेटमणि चौधरीलाई भेटेका छन् । मन्त्री चौधरीलाई भेटेर थापाले तीन सुझाब दिएका छन् ।
थापाले मन्त्री चौधरीलाई काठमाडौं उपत्यकाभित्रका सडकलाई पैदलयात्रीमैत्री बनाउनका लागि फुटपाथ निर्माण, विस्तार, पुनः स्थापनाका लागि छुट्टै आयोजना सञ्चालन गर्नुपर्ने र काठमाडौं उपत्यका प्राधिकरणले स्थानीय सरकारसँग सहकार्य गरेर आयोजना सञ्चालन गर्न सुझाब दिएका छन् ।
काठमाडौं उपत्यका विकास प्राधिकरणको ऐन संशोधन गरेर, यसको सञ्चालक समितिमा काठमाडौं उपत्यकाका सम्पूर्ण महानगर–नगरपालिकाका प्रमुख, प्रदेश सरकार र संघीय सरकारका प्रतिनिधि रहने व्यवस्था गर्नुपर्ने थापाको सुझाब छ ।
थापाले ट्विटरमार्फत सो जानकारी गराएका हुन् । उनले लेखेका छन्, ‘यो प्राधिकरणले काठमाडौं उपत्यकाको यातायात, फोहोर, नदी प्रणाली, खानेपानी, ढल जस्ता पूर्वाधारका विषयमा एकीकृत सोच र कार्यक्रम तय गर्ने । मन्त्रीज्यूले यी सुझाबलाई सकारात्मक रूपमा लिई कार्य अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।