राष्ट्रियसभा बैठकको शून्य समय: कसले के भने ?
फाइल तस्बिर

सांसद अनिता देवकोटाले राष्ट्रिय सभा बैठकमा घोराही तुलसीपुरको ‘फोर लेन’ सडक निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद देवकोटाले घोराही तुलसीपुरको फोर लेन सडक सुचारु नहुँदा जनताले सास्ती भोग्नुपरेको बताइन् । 

उनले तोकिएको समयमा सम्पन्न नभई म्याद थपिएको मिति समेत सकिन लाग्दा पनि निर्माण सम्पन्न नभएको भन्दै सडक निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराइन्  । उनले सडकमा रहेका खाल्डाखुल्टी र निर्माणाधीन पुलका कारण सो सडक खण्ड मृत्यु मार्ग बनेको बताइन् । उनले भनिन् – ‘घोराही तुलसीपुरको फोर लेन सडक अहिले पनि सुचारु भएको छैन । भारतीय कम्पनी र भारतीय ठेकेदारलाई दिएको, थपिएको म्याद पनि सकिन लाग्दा त्यो निर्माण हुन सकेको छैन । सडकमा रहेका खाल्डाखुल्टी र निर्माणाधीन अस्तव्यस्त पुलहरूको कारण दाङ घोराही मृत्यु मार्ग बनिरहेको छ । दंगालीले कहिलेसम्म सास्ती भोग्नुपर्ने हो ? सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु ।’

सांसद खिमलाल देवकोटाले फेवाताल वरिपरिका ८० प्रतिशत घरहरु बिना स्वीकृति र मापदण्ड विपरीत बनाइएकाले त्यस्ता घरहरूको नियमन गरी भत्काउन माग गरे । उनले अतिक्रमित पोखरा बसपार्कको जग्गा खालि गराई अत्याधुनिक बसपार्क निर्माण गर्नुपर्ने बताए । उनले भने  – ‘फेवाताल वरिपरिका ८० प्रतिशत घरहरु अवैध छन् । कतिपयले बिना स्वीकृत आठ, नौ तलासम्म घर बनाएका छन् । त्यस्ता घरहरूको नियमन र फेवातालको मापदण्डमा परेका घरहरु भत्काइयोस् । यसैगरी अतिक्रमित पोखरा बसपार्कको जग्गा खालि गराई अत्याधुनिक बसपार्क निर्माण गरी पोखरालाई व्यवस्थित गराइयोस् । तालै तालको सहर पोखराको सुन्दरतालाई जोगाइयोस् । फेवातालको सिरानमा वाटर स्पोर्ट्सका लागि पूर्वाधार र पञ्चासे, माछापुच्छ्रे र अन्नपूर्ण हिमालको फेदीसम्म व्यवस्थित पदमार्ग निर्माण गरियोस् ।’

बैठकमा सांसद दिलकुमारी रावल थापाले प्रधानसेनापति अस्ट्रेलियामा भएको कार्यक्रममा सहभागी भएको सम्बन्धमा सरकारको जवाफ माग गरेकी छन् । उनले कोभिड १९ को सङ्क्रमण बढिरहेकोतर्फ सरकारलाई सचेत पनि गराइन् । उनले भनिन् – ‘अस्ट्रेलियाको मेलर्वनमा भइरहेको आइपिएसको कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति सहभागी भएको भन्ने समाचार बाहिर आएको छ । कुरा के हो ? एकातिर आइपिएसको कार्यक्रममा सहभागी नहुने सरकारको निर्णय, अर्कोतिर सेनापति सहभागी हुने सरकारको दोहोरो नीति के हो ? म सरकारबाट स्पष्ट जवाफ चाहन्छु । कोभिड–१९ को नयाँ भेरिअन्ट बढी रहेको सन्दर्भमा एकातिर स्वास्थ्य मापदण्ड कमजोर भइरहेको छ, अर्कोतिर भ्याक्सिन डेट स्पायर भइरहेको छ । यसतर्फ सरकार गम्भीर हुन म आग्रह गर्न चाहन्छु ।’

सांसद नन्दा चपाईंले सुर्खेत उपत्यकाको राजमार्ग आसपास र तल्लो तटीय क्षेत्रमा डुबानको जोखिम बढेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्  । उनले सो क्षेत्रको अध्ययन, अवलोकन गरी वर्षातको पानीलाई निकासको व्यवस्था गरिदिन सकार समक्ष माग गर्दै भनिन् – ‘यति बेला सुर्खेत उपत्यकाको राजमार्ग आसपास र तल्लो तटीय क्षेत्रमा डुबानको जोखिम बढ्दै गएको छ । त्यहाँका जनताले वर्षातको समयमा अत्यन्त कष्टकर जीवन बिताइरहेका छन् । यस क्षेत्रको वस्तुगत अध्ययन, अवलोकन गरी वर्षातको पानीलाई निकासको व्यवस्था गरि दिनको लागि सभा अध्यक्षमार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद प्रकाश पन्थले एसइई परीक्षामा विद्यालयले मूल्याङ्कन गर्दा ४ जिपिए ल्याउने ९ हजार जनाभन्दा बढी र परीक्षा बोर्डले मूल्याङ्कन गर्दा ४२ जनाले मात्रै ल्याएको भन्दै बोर्डको नतिजा ठिक कि विद्यालयको नतिजा ठिक हो भन्नेमा छानबिन गर्नुपर्ने बताए । उनले परीक्षामा कमजोर ग्रेड ल्याउनेहरूलाई सरकारले अध्ययन बाहेक के अवसर दिने भन्ने प्रश्न गरे ।  उनले भने – ‘विद्यालयले मूल्याङ्कन गर्न जिपिए ४ ल्याउने ९ हजार बढी थिए । बोर्डले परीक्षा लिँदा ४२ जना मात्रै भए । किन यस्तो भयो ? कहाँ, किन र कसरी यो फरक परेको हो ? ४२ जनाले ल्याउने ठिक हो कि ९ हजार बढीले ल्याउने ठिक हो कि, विद्यालय ठिक हो कि, बोर्ड ठिक हो भन्ने कुराको छानबिन अनुसन्धान पनि होस् । राम्रो जिपिए र ग्रेड ल्याउनेहरूलाई हातमा सर्टिफिकेट र उच्च शिक्षाको अवसर छ । तर कमजोर ग्रेड ल्याउनेहरू लाखौँलाई हातमा के छ उनीहरूको लागि सरकारसँग ? बेरोजगार बढाउने हो कि ? पासपोर्ट थमाउने हो कि ? सिप, तालिम, प्रविधि के छ ? शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’



सांसद महेश कुमार महराले राहदानी विभागमा पासपोर्ट बनाउन बिचौलियालाई घुस दिनुपर्ने अवस्था रहेको भन्दै सो अवस्था तत्काल रोक्न माग गरेका छन् । बिचौलियाको सेटिङमा काम गर्ने कर्मचारीलाई कारबाही गरी सेवाग्राहीलाई सरल ढंगले राहदानी उपलब्ध गराउन सरकारसँग माग गरे । उनले भने – ‘राहदानी विभागमा धेरै टाढाबाट इमर्जेन्सी पासपोर्ट बनाउन आउँछन् । उनीहरूलाई सहजै उपलब्ध हुन सकेको छैन । बीचका दलालहरूले ३ हजारदेखि ६ हजारसम्म पैसा खाएर हामी गर्छौँ भनेर कर्मचारी सेटिङमा भइरहेको छ । यो तत्काल रोकेर ती दलालहरु को हुन् र त्यो कर्मचारीको सेटिङ हो भने तत्काल कारबाही गरेर सेवाग्राहीलाई सरल ढंगले राहदानी उपलब्ध गराउनको निमित्त म नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’

सांसद सिंहबहादुर विश्वकर्माले तातोपानी नाकामा जोडिएको कोदारी राजमार्ग वर्षातको कारण अवरुद्ध हुँदा आवतजावतमा समस्या भएको बताए । सवारीसाधन चल्न नसक्दा राजस्व संकलनमा समेत प्रभाव परेको बताउँदै उनले भने – ‘केही दिन यता उत्तरी तातोपानी नाकामा जोडिएको कोदारी राजमार्गको विभिन्न ठाउँहरूमा वर्षायामको कारणले पहिरो गइराखेको र सडक भासिएको कारण यातायात आवतजावत गर्न एकदम कठिनाइ परिराखेको छ । राजश्व संकलनमा समेत प्रभाव परेको छ । दैनिक साढे २ करोड भन्दा बढी राजस्व संकलन हुने भन्सारमा अहिले मुस्किलले दैनिक ८० लाख रुपैयाँ मात्र संकलन हुन गइराखेको छ । उक्त सम्बन्धमा सम्बन्धित निकायको बेलैमा ध्यान पुगोस् ।’ 



  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार १२:४४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया