सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पर्यटकीय क्षेत्र, धार्मिक क्षेत्र, विद्यालय र अस्पतालमा निःशुल्क वाईफाई जडान गर्ने बताएका छन् ।
बिहीवार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समिति बैठकमा नेपाल टेलिकमको सेवाको गुणस्तरको बारेमा बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले आगामी दिनमा नयाँ नीति र कार्यक्रमअनुसार मन्त्रालय अगाडि बढ्ने बताए ।
मन्त्री कार्कीले नेपाल सूचना र सञ्चारको क्षेत्रमा कमजोर नभएको पनि बताए । उनले नेपाल सूचना र सञ्चारको क्षेत्रमा एशियामा नै कमजोर नभएको तर सन्तोष हुने अवस्था पनि नरहेको बताए ।
मन्त्री कार्कीले सञ्चार क्षेत्रको विकास गर्न सबैको जिम्मेवारी रहेको भन्दै जिम्मेवारीबाट कोही पनि पछि हट्न नहुने बताए । उनले सरकार सूचना र सञ्चार क्षेत्रको विकास गर्न सधैँ तत्पर रहेको जिकिर गरे ।
मन्त्री कार्कीले नेपाल टेलिकमले आम नागरिकलाई ईसिम कार्ड सेवा बिस्तार गर्ने तयारीमा रहेको पनि जानकारी दिए । उनले सञ्चारको क्षेत्रमा सन्तुलित विकास नगरी समग्र मुलुकको विकास गर्न नसकिने दाबी गरे ।
मन्त्री कार्कीले सरकारले चाँडै महत्वपूर्ण पर्यटकीय क्षेत्र, धार्मिक क्षेत्र, विद्यालय र अस्पतालमा निःशुल्क इन्टरनेट जडान गर्ने नीति अगाडि बढाउने चरणमा रहेको उल्लेख गरे ।
सञ्चारमन्त्री कार्कीले नेपालमा पर्यटन र जलस्रोतको सम्भावना भएजस्तै सूचना र प्रविधिको पनि धेरै ठूलो सम्भावना रहेको बताए । उनले सूचना र प्रविधिको क्षेत्रबाट नेपालले उल्लेख्य विदेशी मुद्रा आर्जन गर्नसक्ने सम्भावना रहेको भन्दै यो क्षेत्रको विकास गर्न जरुरी रहेको बताए ।
मन्त्री कार्कीले नेपालमा सञ्चार प्रविधिको विकास गर्न नीतिगत समस्या नभएपनि कार्यान्वयनको समस्या रहेको बताए । उनले आगामी १० वर्षपछि दुर्गम भनिएको कर्णाली प्रदेशमा जानको लागि हानथाप हुने गरेर नीति तर्जुमा गरिरहेको दाबी गरे ।
उनले भने, ‘अब कर्णालीको धेरै स्वर्णिम भविष्य रहेको छ । अहिले दुर्गम, दुर्गम भनिन्छ । १० वर्षपछि सबै कर्मचारी कर्णाली जाने हानथाप हुनेछ । सञ्चार मन्त्रालय नेपाल टेलिकमको टावरको सेवा पुर्याउन कर्णाली र तराईका ८ जिल्लालाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्छ ।’
सञ्चारमन्त्री कार्कीले सञ्चार मन्त्रालय नेपाल टेलिकमको टावरको सेवा पुर्याउन कर्णाली र तराईका ८ जिल्लालाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढेको उल्लेख गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।