सदस्यता वितरणमा कडाइ गर्न पत्रकार महासंघलाई प्रेस काउन्सिलको आग्रह

प्रेस काउन्सिल नेपालले जथाभावी सदस्यता दिने काम नगर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो सदस्यता दिने प्रावधानलाई खुकुलो नबनाउन नेपाल पत्रकार महासंघलाई आग्रह गरेका हुन् । 

नेपाल मतदाता अधिकार मञ्चले बुधबार काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पत्रकारको आवरणमा गैरपत्रकारबाट हुने विभिन्न खालका गतिविधिलाई रोक्न पनि महासंघले आफ्नो सदस्यता दिने काममा कडाइ गर्नुपर्ने स्पष्ट पारे । 

कुनै दलको केन्द्रीय कमिटीमा रहेकाहरुलाई पनि महासंघले सदस्यता दिँदा समस्या आएको दृष्टान्त पेस गर्दै अध्यक्ष बस्नेतले त्यसो हुन नदिन नेपाल पत्रकार महासंघलगायत सम्बद्ध निकाय सचेत हुनुपर्ने बताए । 

नेपाल पत्रकार महासंघको सदस्यता लिने, तर सक्रिय पत्रकारिता नगर्नेहरुको कारण पनि नेपालको सञ्चार क्षेत्रमा समस्या देखिएको उनले बताए । अध्यक्ष बस्नेतले सञ्चारकर्मीहरु आफू सचेत भए मात्रै अरुमाथि प्रश्न उठाउन सकिने पनि पटकपटक दोहोर्‍याए । 

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राज्यले समेत पत्रकारहरुलाई विवेक पुर्‍याएर स्वतन्त्र ढंगले काम गर्ने वातावरण बनाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । पत्रकारहरु लगानीकर्ताका दास नै हुन् भन्ने खालको आरोप लाग्ने गरेको उल्लेख गर्दै उनले त्यस कुराले पनि उनीहरुलाई स्वतन्त्र भएर काम गर्ने काममा अवरोध सिर्जना गरिरहेको तर्क गरे । 

पोखरेलले राज्यले पत्रकारको हितमा केन्द्रित भएर नीति तथा कार्यक्रम ल्याउन नसकेको गुनासो पनि गरे । 





  • प्रकाशित मिति : साउन १८, २०७९ बुधबार १७:४४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया