logo-img

'यसकारण हार्नुपर्छ केपी ओली'

नेकपा माओवादी केन्द्रीय सदस्य रञ्जित तामाङले झापाबाट चुनाव लड्ने घोषणा गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्रबाट आसन्न चुनाव उठ्ने तामाङले घोषणा गरेका हुन् । बुधबार एक टेलिभिजन कार्यक्रममा उनले उक्त घोषणा गरेका हुन् । 

प्रतिगमनको सामना गर्नुपर्ने ठाउँबाट चुनावमा उठ्न खोजेको तामाङको भनाइ छ । उनको सो भनाइ एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित थियो । आफू पार्टीको क्याडर भएकाले अहिले स्वतन्त्र उम्मेदवारहरुले आफ्नो उम्मेदवारी घोषणा गरेझैँ उममेदवारी घोषणा गरिहाल्न नमिलेको उनको भनाइ थियो । 

पूर्वप्रधानमन्त्रीहरुलाई हराउन भन्दै अहिले ‘नो नट अगेन’ अभियान नै चलिरहेको छ । यसै समयमा तामाङले पूर्वप्रधानमन्त्री ओलीसँग चुनाव लड्ने घोषणा गरेपछि राजनीतिक वृत्तमा तरंग छाएको छ । यसै सन्दर्भमा फरकधारकर्मी सुनील धामीले तामाङलाई सोधे– के तपाईं साँच्चै एमाले अध्यक्ष केपी ओलीसँग चुनाव लड्न लाग्नु भएको हो ? जवाफमा तामाङले के भने, उनकै शब्दमा  



मेरो निर्वाचन क्षेत्र र केपी ओलीको निर्वाचन क्षेत्र एउटै हो । म कमल गाउँपालिका वडा नं १ को स्थायी बासिन्दा हुँ । जुन झापा क्षेत्र नं ५ मा पर्छ । झापा क्षेत्र नं ५ का समकालीन माओवादी नेताहरुमध्ये प्रमुख दाबेदार म पनि पर्छु । विगतको निर्वाचनमा समाजवाद, विकास, समृद्धि, सुशासनको निम्ति केपी ओलीको नेतृत्वमा एकीकृत र मजबुत कम्युनिस्ट पार्टी बनाऊँ भनेर केपी ओलीलाई समेत भोट माग्न हिँडेको व्यक्ति, तर तीन साडे ३ वर्षको समयमा जसरी मुलुकले काँचुली फेर्नुपर्ने थियो, त्यो भएन । त्यसैले उहाँले उमेर, क्षमता, प्रतिभा अवसर प्राप्त गर्नु पथ्र्यो । फेरि पनि उहाँलाई नै जिताउनु पर्छ भन्ने कुनै पनि कोणबाट उचित देखिँदैन । उहाँलाई नै जिताउनुपर्छ भन्ने पुष्टि हुँदैन । त्यसैले अब युवाहरुले अवसर पाउनुपर्छ । युवाहरु राजनीतिमा आउनुपर्छ । देशको जनसंख्याको ठूलो हिस्सा युवाहरुको छ । 

अब भत्ता खानेबेला भइसकेका कतिपय नेताहरुले सत्ताको सपना देख्ने, प्रधानमन्त्रीमा, मन्त्रीमा, सांसदमा ह्याट्रिक गर्न खोज्ने, तर माखो मार्न नसक्ने । त्यसले राष्ट्रलाई, जनतालाई निराशा पैदा गरेको छ । आशा जगाउन सकेको छैन । परीक्षण भइसकेका नेताहरुबाट जनताले धेरै अपेक्षा गर्न सक्दैनन् । भोलि हामीले गर्न सकेनौँ भने पनि अर्को पुस्ता आउँछ । यो स्वाभाविक कुरा हो । 

जनताको जनाकांक्षाअनुसार मैले केपी ओलीको विरुद्धमा मात्रै भन्न खोजेको होइन । यो बहस अरु नेताहरुमा पनि लागू हुन्छ । बहस सुरु भएको छ । अन्य युवाहरुले पनि यसरी नै म सक्षम छु भनेर आउनुपर्छ । 



मेरो टिकटका लागि मैले व्यक्तिगत हिसाबमा अध्यक्ष प्रचण्डसँग पटक–पटक छलफल गरेको छु । पार्टीले मलाई विश्वास गरेर टिकट दियो भने, गठबन्धनले मलाई विश्वास गर्यो भने म केपी ओलीसँग चुनाव उठ्न तयार छु । पार्टीभित्र सामान्यतया सबै क्षेत्रमा सम्भावित उम्मेदवारको हो ? कोसँग बलियो जनमत छ भन्ने बारेमा तथ्यांक संकलन भएको छ । झापा क्षेत्र नं ५ मा मेराे सम्भावना बलियाे देखेकाे छु ।



  • प्रकाशित मिति : साउन १९, २०७९ बिहीबार १९:२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया