logo-img

बालबालिकाको भविष्यप्रति गम्भीर हुन मधेस सरकारलाई ध्यानाकर्षण

चुरे संरक्षणको माग गर्दै जनकपुरधाममा विगत १९ दिनदेखि रिले अनसन गर्दै आएका चुरे तथा वनजंगल संरक्षण अभियानकर्ताले आइतबार पनि मधेस प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अधिकारका निमित्त उनीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । पूर्वघोषित आन्दोलनका कार्यक्रमअनुसार उनीहरुले आइतबार ‘बालबालिका’ आन्दोलन गरेका छन् । 

भूमिहीन सुकुम्वासीहरु घरबारविहीन रहेको र उनीहरुको बालबच्चाको भविष्य अन्धकारमा रहेको कुरा सरकारले बुझेर पनि अबुझ बनेकाले बच्चाहरुलाई राखेर प्रदर्शन गरिएको चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले बताए ।

‘भूमिहीनलाई भूमि देऊ, यी बालबालिकाको भविष्य बनाऊ’ नाराका साथ आफूहरुले बालबालिकासहित प्रदर्शन गरेको उनले बताए । आ–आफ्ना बालबालिकालाई सडकमा उतार्दै बालबालिकाको भविष्यप्रति गम्भीर हुन सरकारलाई ध्यानाकर्षण गराएकोसमेत उनले बताए । 

बालबालिकाको भविष्य, शिक्षाको ग्यारेन्टी, गाँस, बास र कपाससहितको मौलिक अधिकारप्रति मधेस प्रदेश सरकार गम्भीर नभएको उनको गुनासो छ । 

आन्दोलनकारीले मधेस प्रदेश सरकारका मन्त्रीहरुलाई सारी, ब्लाउज, चुरा, पेटीकोट बुझाउन नसकेपछि सडकमै फालेर सांकेतिक विरोध गरेका थिए ।



यी विरोधपश्चात पनि सरकारले कुनै चासो नदेखाए मधेस आन्दोलनभन्दा पनि ठूलो र अन्तिम आन्दोलन हुने संयोजक यादवले चेतावनी दिए ।

यसअघि पनि प्रदेश सरकारलाई ध्यानाकर्षण गराउँदै पटक–पटक ज्ञापनपत्र बुझाउँदासमेत कुनै सुनुवाइ नभएपछि बाध्य भएर आफूहरु सरकारविरुद्ध प्रदर्शनमा उत्रेको उनीहरुले बताएका छन् ।



  • प्रकाशित मिति : साउन २२, २०७९ आइतबार १८:७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया