logo-img

बेथिति निम्त्याउने ठेकेदारहरूलाई तह लगाउने मन्त्री राईको चेतावनी
फाइल तस्बिर

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारहरूलाई तह लगाउने चेतावनी दिएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले नेताको नाम लिएर ठेकदारीमा दादागिरी गर्दै विकास निर्माणका काममा बेथिति ल्याउने ठेकेदारहरूलाई तह लगाउने चेतावनी दिएका हुन् । 

उनले मन्त्रालयले त्यस्ता ठेकेदारहरूको खोजी भई रहेकाले बिस्तारै ठिक लगाउने बताए  । मन्त्री राईले ठेक्का लिने तर समयमा नै काम सक्ने र अन्य विभिन्न बेथिति ल्याउने ठेकेदारहरूलाई सरकारले नछोड्ने बताए । उनले कुनै पनि नेताको नजिकको ठेकदार भए पनि काममा अवरोध सिर्जना गरेमा नछोड्ने बताए । अहिले वैकल्पिक राजमार्गको विषयमा पनि बेथिति भइरहेको उनको भनाई छ । मन्त्री राईले मन्त्रीपरिषद्ले वैकल्पिक सहायक राजमार्गका बारेमा निर्णय गरिसकेकाले अब सहायक राजमार्गको मापदण्ड बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । 

‘गल्ती गर्ने ठेकेदारहरूलाई छोड्ने कुरा आउँदैन । सरकार कुनै पनि नेताको आडमा बसेर विकास निर्माणमा बेथिति निम्त्याउनेलाई छोड्दैनौँ । तर विकास निर्माणमा ठेकेदारहरूको बेथिति छ,’ उनले भने,  ‘को कसको को कसको भन्ने ठेकेदारहरूले विभिन्न नेताहरूको खोल ओढेर ठेकेदारहरूले बेथिति निम्त्याएका छन् । हामी त्यसको खोजी गर्दैछौँ । बिस्तारै ठिक पार्छौँ । तपाईँहरू ढुक्क हुनुस् ठिक पार्छौँ  ।’

मन्त्री राईले सार्वजनिक यातायातमा वैज्ञानिक भाडा दरमा बेथिति नभएको बताए । उनले स्वचालित मूल्य प्रणाली अनुसार नै भाडा समायोजन भई रहेको दाबी गरे । उनले भने, ‘सार्वजनिक यातायातमा वैज्ञानिक भाडा दरको कुरा उठ्यो । सार्वजनिक यातायातमा वैज्ञानिक भाडा दरमा बेथिति चाहिँ छैन । लागू हुने/नहुने कुरामा कतै गुनासो आयो भने कडाइका साथ लगाउँछौँ ।’ 





  • प्रकाशित मिति : साउन २३, २०७९ साेमबार १७:३३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया