logo-img

कांग्रेस नेताका नामका अस्पताल संघअन्तर्गत राख्न माग गर्दै प्रदर्शन

बुटवल– सरकारले कांग्रेस नेता गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा रहेका अस्पताल विघटनको संघारमा पुर्याएको भन्दै नेपाली कांग्रेस रूपन्देही आन्दोलिनमा उत्रिएकाे छ ।  

बाँकेको सुशील कोइराला क्यान्सर अस्पताल र तनहुँको जिपी कोइराला श्वासप्रश्वास केन्द्रलाई संघमातहत नराख्ने सरकारको निर्णयविरुद्ध आज कांग्रेसले बुटवलको ट्राफिक चोकमा विरोध प्रदर्शन तथा कोणसभा गरेको छ । 

कोणसभामा बोल्ने नेताहरूले बहुमतको दम्भमा सरकारले एक्लौटी रूपमा गलत निर्णय गरिरहेको भन्दै ती कदम तत्काल नसच्याए आन्दोलनलाई अझ कडा पारिने चेतावनी दिएका छन् । 

कार्यक्रममा बोल्दै कांग्रेस रूपन्देहीका सभापति अब्दुल रज्जाकले कसैको पनि इतिहास मेटाउने अधिकार सरकारलाई नभएको भन्दै तत्काल निर्णय सच्याउन माग गरे । दस वर्षसम्म हतियार बोकेर जंगलमा बसेको तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर शान्ति सुव्यवस्था कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने गिरिजाप्रसाद र पूर्वप्रधानमन्त्री सुशील कोइराला नेपाली कांग्रेसका मात्र नेता नभई देशकै गौरवशाली नेता भएको सभापति रज्जाकले बताए । 

सरकारले देशकै गौरवशाली नेताहरूको योगदानको अवमूल्यन गरे गाउँगाउँबाट हजारौं जनता सडकमा ओर्लिने नेता रज्जाकले चेतावनीसमेत दिए । उनले बर्तमान सरकार पनि समाप्तिको बाटोतिर गइरहेको टिप्पणी गरे । 

विरोध कार्यक्रममा नेताहरू रामकृष्ण खाँण, विष्णु पोखरेल, रामप्रसाद अधिकारीलगायतले बोल्दै गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा रहेको अस्पतालका सम्बन्धमा गरेको निर्णयबाट सरकार पछि नहटसेम्म कांग्रेसको आन्दोलन नरोकिने चेतावनीसमेत दिए । राजनीतिक पूर्वाग्रह राखेर लिइएका गलत निर्णय नसच्चिए सरकारविरुद्ध कडा रूपमा उत्रिने उनले बताए । 



विरोध सभामा बोल्ने नेताहरूले प्रतिपक्ष दलको नेताविनै संवैधानिक आयोगहरूमा अध्यक्ष नियुक्त गरेर सरकारले सर्वसत्तावादी चरित्र देखाएको भन्दै आपत्ति जनाएका थिए । डा.गोविन्द केसीले उठाएका माग जनताको पक्षमा रहेकाले तत्काल तीनको सम्बोधन गरी डा. केसीको जीवनरक्षाको माग पनि गरेका छन् । भेलाअघि नेता कार्यकर्ताले बुटवलको महेन्द्र पार्कबाट ट्राफिक चोकसम्म सरकारविरुद्ध नाराबाजी गर्दै र्याली निकालेका थिए ।

सरकारले केही दिनअघि बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र तनहुँको जिपी कोइराला श्वासप्रश्वास केन्द्रबाहेक देशका अन्य नौवटा अस्पताललाई संघीय सरकार मातहत राख्ने निर्णय गरेको थियो । कांग्रेसका नेतासँग नाम जोडिएकै कारण महत्त्वपूर्ण र ठूला अस्पताल भए पनि सरकारले ती दुई अस्पतालाई संघ मातहत नराख्ने निर्णय गरेको भन्दै नेपाली कांग्रेसले निर्णय सच्याउन माग गर्दै संघीय संसदसमेत अवरुद्ध गर्दै आएको छ । 
 




  • प्रकाशित मिति : माघ ११, २०७५ शुक्रबार १५:१७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया