प्रतिनिधिसभा निर्वाचन : बागमतीमा एमालेलाई विरासत जोगाउन चुनाैती, उत्कृष्ट कमब्याक गर्ने लक्ष्यमा कांग्रेस

आसन्न संघ र प्रदेशको निर्वाचनमा नेताहरूको सबैभन्दा बढी ध्यान बागमती प्रदेशमा छ । संघीय राजधानी काठमाडौं यही प्रदेशमा रहेकाले पनि चुनावमा बागमतीमाथि धेरैको नजर रहेको हो । 

४ मंसिरका लागि तय गरिएको चुनावका लागि दलहरू आन्तरिकरूपमा जुटिसकेका छन् । उनीहरूले उम्मेदवार छान्ने प्रारम्भिक तयारी पनि थालिसकेका छन् । साथै, नेताहरूले सामाजिक सञ्जाल वा विभिन्न कार्यक्रममा आफ्नो उम्मेदवारी पनि घोषणा गरिरहेका छन् । 

बागमती प्रदेशमा पनि नेताहरू आफ्नो निर्वाचन क्षेत्रमा माहोल बनाउन जुटिरहेका छन् । १३ जिल्ला रहेको बागमतीमा प्रतिनिधिसभाका लागि ३३ सिट निर्धारण गरिएको छ । सबैभन्दा बढी जनसंख्या रहेको काठमाडौंमा मात्र प्रतिनिधिसभाका लागि १० वटा निर्वाचन क्षेत्र छन् । 

०७४ को निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच वाम एकता भएको थियो । वाम गठबन्धनले नतिजा पनि राम्रै ल्यायो । तर, यसपालि यी दुई पार्टीबीचको दूरी बढेको छ । अहिले माओवादी सत्ता गठबन्धनमा र एमाले प्रतिपक्षमा छ । 

चुनावमा पनि यी दुई पार्टीले तालमेल गर्ने सम्भावना न्यून छ । माओवादी सत्ता गठबन्धनबाट चुनावी मैदानमा जाँदैछ । एमाले भने सकेसम्म एक्लै नभए साना दलहरूसँग तालमेल गरेर गठबन्धनसँग प्रतिस्पर्धा गर्ने रणनीतिमा छ ।

अघिल्लो निर्वाचनमा बागमती प्रदेशमा प्रतिनिधिसभा निर्वाचनमा एमालेले सर्वाधिक २० क्षेत्रमा जित्यो । दोस्रो भएको माओवादी केन्द्रले सात स्थानमा जित हासिल गर्‍यो । नेपाली कांग्रेस भने पाँच स्थानमा खुम्चियो । 



भक्तपुर–१ मा भने नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल भारी मतान्तरले विजयी भए । बागमती प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ६६ र समानुपातिक ४४ गरी जम्मा ११० निर्धारण गरिएको थियो । जसमध्ये प्रत्यक्षका ६६ सिटमध्ये गठबन्धनका तर्फबाट एमालेले ४६ क्षेत्रमा उम्मेदवारी दिएकोमा ४२ सिटमा विजय हासिल गरेको थियो । 

समानुपातिकतर्फ एमालेबाट १६ जना सदस्य निर्वाचित भए । ५८ जना सांसदसहित बागमती प्रदेशसभामा एमाले सबैभन्दा ठूलो दलका रूपमा उदायो । गठबन्धनका तर्फबाट माओवादी केन्द्रले २१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएकोमा १५ सिटमा जित हात पार्‍यो । 



माओवादीबाट समानुपातिकतर्फ आठजना सदस्य निर्वाचित भएका थिए । ०७४ को निर्वाचनमा बागमतीमा प्रदेशसभातर्फ माओवादीले २३ सिट जित्यो । त्यस्तै, कांग्रेसले प्रत्यक्षतर्फका ६४ स्थानमा उम्मेदवारी दिएकोमा सात स्थानमा मात्र सफलता प्राप्त गर्‍यो । समानुपातिकतर्फ भने कांग्रेसबाट  १४ जना सदस्य निर्वाचित भए । कांग्रेस २१ सिटसहित प्रदेशसभामा उपस्थित छ ।

बागमती प्रदेशमा ११९ स्थानीय तह छन् । गएको वैशाखमा सम्पन्न स्थानीय तहमा यो प्रदेशमा ५ हजार ५ सय २४ जनप्रतिनिधि निर्वाचित भएका छन् । जसमा कांग्रेस पहिलो पार्टी बन्यो । उसले प्रमुखदेखि सदस्यसम्म गरी २ हजार ३ सय ७१ पदमा जित हासिल गरेको छ । 

यस्तै, एमाले १ हजार ९ सय ५४, माओवादी केन्द्र ९ सय ३९ र नेकपा एकीकृत समाजवादी १ सय १० पदमा विजयी भएका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५८, नेपाल मजदुर किसान पार्टीले ५४, जनता समाजवादी पार्टीले ३ र स्वतन्त्रले ३५ पदमा जित हासिल गरेका छन् ।

बागमती प्रदेशमा यसअघि ६४ पालिका जितेर पहिलो पार्टी बनेको एमाले यसपालि भने २६ पालिकामा सीमित बन्यो । योसँगै ऊ पहिलोबाट तेस्रो स्थानमा खस्कियो । पाँच दलीय गठबन्धनका कारण बागमतीमा एमालेले एकैपटक ३८ पालिका गुमाउनु परेको हो । 

गठबन्धनको प्रत्यक्ष फाइदा कांग्रेस, माओवादी केन्द्रले लियो । यसअघि ३५ पालिका मात्र जितेको कांग्रेसले यसपटक ५८ पालिका जित्न सफल भयो । त्यस्तै, माओवादी २७ पालिकासहित दोस्रो भयो । स्थानीय तहको निर्वाचनको परिणामअनुसार आउँदो प्रदेश र संघको चुनावमा पनि गठबन्धनलाई फाइदा हुने सम्भावना छ । यही अनुमानका आधारमा पनि पाँच दलीय गठबन्धनले तालमेलका साथ चुनावमा एमालेसँग प्रतिस्पर्धा गर्न लागेको हो । 

एमाले भने गठबन्धनलाई हराएर फेरि पहिलो पार्टी बन्ने रणनीतिमा छ । तर, यसपालि उसलाई सजिलो भने पक्कै छैन । पार्टी विभाजनको असर र वाम गठबन्धन नहुँदा एमालेलाई घाटा हुने देखिन्छ । 

याे पनि– प्रतिनिधिसभा निर्वाचन : प्रधानमन्त्री देउवाको गृहप्रदेशमा कुन पार्टीको पल्लाभारी?

याे पनि– प्रतिनिधिसभा निर्वाचन : स्थानीय चुनावको नतिजाले उत्साहित गठबन्धन, तेस्रोमा खुम्चिने त्रासमा एमाले

याे पनि– गण्डकीमा एमालेले जोगाउन सक्ला बिरासत ? गठबन्धनको बलमा पहिलो पार्टी बन्ने दाउमा कांग्रेस​

यो पनि– प्रतिनिधिसभा निर्वाचनमा लुम्बिनी : माओवादी र एमालेको साइज उस्तै, गठबन्धनले एमालेलाई सकस​

  • प्रकाशित मिति : साउन २७, २०७९ शुक्रबार १२:४३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया