लाल सिंह चड्ढा दोस्रो दिन पनि बक्स अफिसमा कमजोर, आमिरविरुद्ध पर्‍यो उजुरी
फाइल तस्वीर

आमिर खानको ‘लाल सिंह चड्ढा’ले बक्स अफिसमा खासै कमाल गर्न सकेको देखिँदैन । फिल्मले दोस्रो दिन करिब ७ करोडको व्यापार गरेपछि फिल्मको कुल कलेक्सन करिब १९ करोड पुगेको छ । पहिलो दिन फिल्मले १२ करोडको व्यापार गरेको थियो । 

भारतीय सञ्चारमाध्यमका अनुसार ओपनिङ डेमा लाल सिंह चड्ढाको कलेक्सन आमिरका फिल्ममध्ये अहिलेसम्मकै सबैभन्दा कम हो । दोस्रो दिनको कलेक्सन निकै कम देखिएपछि सप्ताहन्तमा पनि फिल्मले राम्रो कमाई गर्ने नसक्ने बताइएको छ ।

आमिर खानको बहुप्रतिक्षित फिल्म लाल सिंह चड्ढा ११ अगस्टमा हलमा रिलिज भएको थियो । यो फिल्म हलिउड फिल्म फरेस्ट गम्पको हिन्दी रिमेक हो । जसका कारण पनि दर्शकले आमिरको यो फिल्मबाट धेरै अपेक्षा गरेका थिए । 

तर, बक्स अफिसको कलेक्सन हेर्दा भने फिल्मले कमाल गर्न नसकेको देखिन्छ । आमिर र करिनाको यो फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको भए पनि कमाइको मामिलामा निकै कमजोर देखिएको हो ।

आमिरविरुद्ध उजुरी 

दिल्लीका वकिल नवीन जिन्दलले आमिर खानले यस फिल्ममार्फत भारतीय सेना र हिन्दू धर्मको अपमान गरेको आरोप लगाउँदै उजुरी दिएका छन् । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार वकिल नवीन जिन्दलले बलिउड अभिनेता आमिर खानविरुद्ध दिल्लीका प्रहरी आयुक्त सञ्जय अरोरालाई उजुरी दिएका हुन् । 



दिल्ली प्रहरीलाई दिएको उजुरीमा वकिल नवीन जिन्दलले भनेका छन्, 'यस फिल्ममा एक मानसिक रूपमा अपाङ्गता भएका व्यक्तिलाई कारगिल युद्धमा लड्न भारतीय सेनामा भर्ती गरिएको देखाइएको छ । यो सबैलाई थाहा छ कि भारतका उत्कृष्ट सैनिकहरू कारगिल युद्ध लड्न पठाइएको थियो । कडा तालिमपछि सेनाका यी सिपाहीहरूले यो युद्ध लडे । तर फिल्मका निर्माताहरूले जानाजानी भारतीय सेनालाई बदनाम गर्न यस्तो अवस्था सिर्जना गरेका छन् ।'

उनको उजुरीमा फिल्मसँग सम्बन्धित अर्को एक दृश्यमा पनि आपत्ति जनाइएको छ । फिल्ममा एक दृश्यमा आमिर खानले हिन्दुहरुको आस्थामा चोट पुर्याएको भन्दै आपत्ति जनाएका हुन् । उनको उजुरीको आधारमा दिल्ली प्रहरीले आमिर खान, निर्देशक अद्वैत चन्दन र प्यारामाउन्ट पिक्चर्स प्रोडक्सन हाउसविरुद्ध आईपीसीको धारा १५३, १५३ए, २९८ र ५०५ अन्तर्गत एफआईआर दर्ता गरेको छ ।



  • प्रकाशित मिति : साउन २८, २०७९ शनिबार १५:०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया