प्रदेश १ः पाठ्यक्रममा विपद् जोखिम व्यवस्थापन विषय समावेश गर्नेबारे छलफल

व्यावहारिक र प्रयोगात्मक सिकाइलाई अगाडि बढाउने उद्देश्य अनुसार पाठ्यक्रममा विपद् जोखिम व्यवस्थापन सम्बन्धित विषय समावेश गर्ने सम्बन्धमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । 

प्रदेश-१ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुधवार विराटनगरमा आयोजित कार्यक्रममा सरोकारवाला निकायसँग अन्तरक्रिया गरिएको हो । 

परम्परागत शिक्षा अभ्यासको शिक्षा नभई प्रमाणपत्र मात्र प्राप्त गर्ने प्रकृतिको भएकाले प्रदेश सरकारले व्यवहारिक शिक्षालाई जोड दिइरहेको र त्यसै अनुसार पाठ्यक्रममा विपद् जोखिम व्यवस्थापन सम्बन्धि विषय समावेश गर्न मन्त्रालयले कार्यक्रमको आयोजना गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले बताए । 

‘विद्यार्थी विद्यालयबाट निस्केपछि बाटोमा सुरक्षित हुनुपर्‍यो, पानीमा सुरक्षित हुनुपर्‍यो, आगोमा सुरक्षित हुनुपर्‍यो, भूकम्पमा सुरक्षित हुनुपर्‍यो ऊ सुरक्षित भयो भने सिकाइको अर्थ रहन्छ, उसले समाजलाई सुरक्षित बनाउन सक्छ अनि राष्ट्र पनि सुरक्षित हुन्छ,’ उनले भने । 

विद्यार्थीलाई नयाँ कुरा दिन नसके शिक्षकले जागिर खानकै लागि पढाउने तथा विद्यार्थी पास मात्रै हुनका लागि पढ्ने भन्दै यसलाई तोड्न सिकाइको नयाँ नीति अख्तियार गर्नुपर्ने आवश्यक रहेकोमा मन्त्री कार्कीको जोड छ । सहभागीले विद्यार्थीलाई बोझ हुने कुरा सिकाउनुभन्दा व्यवहारिक शिक्षामा जोड दिन आवश्यक भएको र सरकारले त्यसको सुरुवात गरेको बताएका छन् । 

प्रदेशका सबै स्थानीय सरकार, सामाजिक विकास मन्त्रालय तथा केन्द्रको सरकारसँग पनि समन्वय गरेर यसलाई पूर्णता दिन सकिने विपद् तथा शैक्षिक क्षेत्रका जानकारहरूले बताएका छन् । उनीहरुले तहगत रुपमै विषय समावेश गर्न सकिने भन्दै प्रस्तुति दिएका थिए ।





  • प्रकाशित मिति : भदौ १, २०७९ बुधबार १७:३२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया