मकवानपुरमा फैलँदै डेंगु : एक महिनामा २ सयभन्दा बढीमा संक्रमण

मकवानपुरमा पछिल्लो समय डेंगु रोगको संक्रमण फैलँदै गएको छ । एक महिनाको अवधिमा २ सयभन्दा धेरैमा डेंगु देखिएको हो । चालू आर्थिक वर्षको साउन महिनाभरमा १ गतेदेखि ३१ गते सम्मको अवधिमा २ सय २१ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । मकवानपुरका १० स्थानीय तहमध्ये सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका मानिसमा यो रोग देखा परेको घिमिरेले बताए ।

मकवानपुरमा पछिल्लो समय डेंगु सँगै, स्क्रबटाइफस र कालाजारका बिरामीहरुको समेत संख्या बढ्दै गइरहेको सूचना अधिकारी घिमिरेले जानकारी दिए । सोही अवधिका जिल्लामा २७ जनामा स्क्रबटाइफसको संक्रमण देखिएको छ भने २ जनामा कालाजार देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । 

उनले भने, ‘पछिल्लो समय डेंगुका बिरामी अलि बढी भेटिन थालेका छन् । डेंगु मात्रै नभएर स्क्रबटाइफस र कालाजारको समेत संक्रमण पाइएको छ । खासगरी सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिकामा भेटिएका छन् । अन्य एक दुई स्थानीय तहका केहीमा मात्रै डेंगु भेटिएको छ । १ महिनाको अवधिमा यति धेरै डेंगु संक्रमित हुुनु भनेको सतर्कता अपनाउन जरुरी छ भन्ने पनि हो ।’ 

सूचना अधिकारी घिमिरेका अनुसार संक्रमितहरु हेटौंडाको धेरै रहेका कारण हेटौंडा उपमहानगरपालिकाले पनि विभिन्न पानी जम्ने खाल्टाखुल्टीमा निष्संक्रमण गर्ने कार्यलाई समेत जोड दिँदै आएको छ । 

त्यसो त उनका अनुसार जिल्लाको मनहरी गाउँपालिकाका ६ नम्बर वडामा २ जनामा कालाजार संक्रमण भएको हो । आर्थिक वर्षको सुरुवातमा नै डेंगुका संक्रमितको संख्या बढ्न थालेपछि अघिल्लो आर्थिक बर्ष २०७८/०७९ को तुलनामा चालू आर्थिक वर्षमा बिरामी संख्या बढ्न सक्ने स्वास्थ्य विज्ञहरु बताउँछन् । 

गत आर्थिक बर्षमा १ सय ९५ जनामा डेंगु संक्रमण भएको थियो । त्यस्तै, स्क्रबटाइफसका बिरामी ५५ जना, मलेरियाका बिरामी ३० जना र कालाजारका बिरामी २ जना भेटिएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी घिमिरेले बताए ।



कस्ता मानिसलाई डेंगु रोगको संक्रमण बढी भएको पाइएको छ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘डेंगु, स्क्रबटाइफसले कस्ता उमेर समूहका मान्छेलाई संक्रमित गर्छ भन्ने हुँदैन । अहिले जिल्लाको आँकडा हेर्ने हो भने बालबालिकालाई भने कमै मात्र संक्रमण भएको पाइएको छ । 

बच्चाहरु घरबाट बाहिर त्यति ननिस्कने कारण पनि संक्रमण कम भएको हुनसक्छ । अन्यको हकमा भने महिला, पुरुष दुवै समूहका मानिसमा संक्रमण भएको पाइएको छ । यसको जोखिम अझै भदौ महिनासम्म पनि रहने हुन्छ ।’



लक्षण

सामान्यतया डेंगु भाइरसको संक्रमण भएका करीब ८० प्रतिशत मानिसमा रोगको कुनै लक्षण देखिदैनन् वा देखिए पनि हल्का ज्वरोजस्ता सामान्य खालका लक्षण मात्र देखिन्छ । संक्रमितमध्ये ५ प्रतिशत मानिसमा गम्भीर प्रकारको डेंगु लाग्ने गर्छ भने तीमध्ये पनि निकै कम मानिसहरु यस रोगका कारण मृत्युको मुखमा पुग्ने गर्दछन् । यो रोग छिप्पिन ३ देखि १४ दिन लाग्ने भए पनि धेरैजसो बिरामीमा यो रोगले ४ देखि ७ दिनमा नै पूर्णता पाउँछ । त्यसैले डेंगुुको जोखिममा रहेका स्थानमा गएर फर्किएका मानिसहरुमा घर पुगेको १४ दिनपछि डेंगु वा अन्य लक्षण देखा पर्ने सम्भावना हुँदैन ।

सतर्कता

डेंगु सार्ने लामखुट्टेले पानीमा फुल पार्दछ । यसको पोथी लामखुट्टेले पानी जम्ने खाली ड्रम, छतमा राखिएका गमला, टिनका डब्बा, टायर, ट्यूवेल लगयतका स्थानमा फुल पार्दछ । अधिकांश यी लामखुट्टेले दिउँसो मात्र टोक्ने गर्दछन् । तसर्थ लामो बाहुला भएका कपडा लगाउने, दिउँसो सुत्दा पनि झुलभित्र मात्र सुत्ने, लामखुट्टे भगाउने धुप, मल्हम वा लिक्विडको प्रयोग गर्नु पर्दछ ।

कसरी बच्ने ?

डेंगु ज्वरोविरुद्ध अहिलेसम्म कुनै खोपको विकास नभएकोले डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु नै सबैभन्दा उत्तम विकल्प हो । यसको टोकाइबाट बच्न घर, आगन, घर आसपासका पानी जम्ने भाँडाहरु सफा गर्नु पर्दछ । साथै घरवरीपरी सकेसम्म पानि जम्न दिनुहुँदैन, आसपासका ढल, पोखरी आदिमा नियमित सरसफाइ गर्नुपर्ने स्वास्थ्य विज्ञहरु बताउँछन् ।
 

  • प्रकाशित मिति : भदौ १, २०७९ बुधबार १८:१४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया