राष्ट्रिय परिचयपत्रले दिएको सास्ती : प्रजिअले लिँदैनन् चासो, सहायक प्रजिअ हप्काउँछन्
फरकधार / १० भदौ, २०७९

नागरिकता प्रमाणपत्रको कमीकमजोरी हटाउन तथा देशको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउने उद्देश्यले नेपाली नागरिकका लागि राष्ट्रिय परिचयपत्र बहुउपयोगी मानिन्छ । 



विकास र समृद्धिको मुद्दालाई मूर्तरूप दिन सरकारले आफ्ना सबै अंगलाई चुस्त बनाउँदै प्रविधिमैत्री वातावरण तयार गर्न पनि राष्ट्रिय परिचयपत्रको व्यवस्था गरेको छ । तर, सरकारका प्रशासनिक अंगहरूको व्यवहार भने फरक देखिएको छ । 

जिल्ला प्रशासन कार्यालय धनुषाको प्राङ्गण अघिपछिको जस्तै शुक्रबार पनि धेरै भिडभाड देखिन्थ्यो । विभिन्न उद्देश्यले सेवाग्राही लाइनमा उभिरहेका थिए । प्रशासनको प्रवेशद्वारको बायाँतिर राष्ट्रिय परिचयपत्र बनाउन मानिसहरू लाइनमा उभिरहेका थिए ।



सरकारले बाध्यकारी व्यवस्था गरेसँगै राष्ट्रिय परिचयपत्र बनाउन आउनेको भिड बाक्लै थियो । त्यही भिडमा थिए धनुषाको हंसपुर नगरपालिका–९ का धीरेन्द्र पासवान । उनलाई सोमबार मलेसिया जानुपर्ने छ । त्यसका लागि भिसा र टिकट पनि उनले पाइसकेका छन् ।



अन्तर्राष्ट्रिय यात्राका लागि पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएकोले उनी कागजातसहित जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा उभिएका थिए । यस्तो घाममा पनि यतिको लामो समयदेखि तपाईं यहाँ किन उभिनुभएको छ भनी सोध्दा उनले प्रमुख जिल्ला अधिकारी, सहायक जिल्ला अधिकारी र कर्मचारीको कार्यशैलीले आफूलाई धेरै गाह्रो भएको बताए । 

उनलाई तुरुन्तै राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने आवश्यकता भएकोले उनी बिहान ७ बजे नै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । कार्यालय समय सुरु भएसँगै उनी निकै उत्साहित थिए । तर, उनको त्यो उत्साह धेरै बेरसम्म टिक्न सकेन । उनले त्यहाँका एकजना कर्मचारीलाई सोध्दा उनलाई तुरुन्तै राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने भए कोठा नम्बर ११ मा जान भनियो ।

उनी खुसी हुँदै कोठा नम्बर ११ मा बस्ने सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीको कार्यकक्षमा पुगे । उनको कार्यकक्षमा जाँदा सहायक प्रजिअ भण्डारी फोनमा व्यस्त थिए । ५ मिनेटसम्म फोनमा कुराकानी गरेपश्चात् भण्डारीले उनलाई के काम छ? उनले ‘किन त्यतिबेलादेखि मेरो अगाडि उभिएको’ भन्दै धीरेन्द्रलाई हप्काए ।

सहायक प्रजिअ भण्डारीको अगाडि उनकै केही परिचित व्यक्तिहरू कार्यालयको सोफामा आरामले बसिरहेका थिए । उनी फेरि तिनीहरूसँग गफिन थाले । धीरेन्द्रले सर मेरो काम गरिदिनुस् नभन्दा उनले फेरि ल ल्याउ छिटो भन्दै उनको हातबाट फाइल समाते ।

सम्पूर्ण कागजात हेरिसकेपछि भण्डारीले तिम्रो भिसा, टिकट र अन्य कागजातमा त्रुटि छ । अब थप कागजात ल्याउ भन्दै धीरेन्द्रलाई त्यहाँबाट फर्काएर उनी पुनः सोफामा बसेका व्यक्तिसँग गफिन थाले । 

सहायक प्रजिअसँग काम हुने सम्भावना नदेखेपछि धीरेन्द्रले प्रमुख जिल्ला अधिकारीलाई नै भेट्ने सोच बनाए । उनी प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको कार्यकक्षमा प्रवेश गर्न खोजे । उनलाई प्रजिअको सुरक्षामा रहेका प्रहरी जवान खेमबहादुर ढुंगेलले गेटमै केरकार गर्न थाले । 

उनले ‘सबैथोक पहिला मलाई भन्नुस् त्यसपछि मात्र भित्र जाने कुरा गर्नुहोला’ भन्दै धीरेन्द्रलाई रोके । त्यतिबेलासम्म प्रजिअसँग भेट्न अन्य दर्जनौं व्यक्ति पनि गेटमा उभिएका थिए । सबैसँग ती प्रहरी जवान झर्केर कुराकानी गरिरहेका थिए ।   ​

धेरै बेरपछि धीरेन्द्रलाई भित्र जान बाहिरबाट ती प्रहरीले आदेश दिए । धीरेन्द्रले प्रजिअलाई आफ्नो सम्पूर्ण कागजात देखाए । प्रजिअले कागजात हेरिसकेपछि ‘यो हुँदैन, मिल्दैन, बाहिर सहायक प्रजिअकोमा जानुस्’ भन्दै उनलाई त्यहाँबाट पनि फर्काइदिए । धीरेन्द्र अक्क न बक्क भए । उनी जिल्ला प्रशासन कार्यालयमा सामान्य कामको लागि पनि टेबलै टेबलसम्म कुदे पनि अन्तत्वगत्वा उनको काम भएन । 

उनी भन्छन्, ‘सरकारी कामका लागि ढुक्क हुन सकिन्न, सरकारी काम कहिले जाला घाम जस्तो गर्ने प्रवृति छ, अब कति दुःख पाइने हो थाहा छैन । मलाई सोमबार नै जानुपर्ने छ ।’ 

धीरेन्द्रले सरकारी अधिकारी र कर्मचारीलाई जनताको समयको मतलब नै नरहेको आफूले प्रत्यक्ष देखेको बताए । उनले भने, ‘एउटा सामान्य कामको लागि पनि मैले यस्तो ठुलो ढिलासुस्ती कतै देखेको थिएन । झन् उपल्लो पदमा बस्ने व्यक्तिको बोली सुनेर साह्रै दुःख लाग्यो ।’

धीरेन्द्र प्रतिनिधि पात्र मात्रै हुन् । उनी जस्ता सयौँजना त्यहाँ ओझेलमा थिए । घण्टौँ लाइनमा उभिए पनि कसैको काम भइरहेको थिएन । तर, कार्यालय बाहिर रहेका बिचौलियामार्फत पैसा तिरेर काम गराउन खोज्नेको काम एकछिनमै हुने गरेको देखिन्थ्यो ।    

राष्ट्रिय परिचयपत्र बनाउन आएका सेवाग्राहीलाई कर्मचारीले एकदेखि डेढ महिनापछिको पालो दिन्छन् । त्यसपछि बिचौलियाको खेल त्यहीँबाट सुरु हुन्छ । सहजरूपमा राष्ट्रिय परिचयपत्र बनाउन नसक्दा नागरिकले सास्ती खेप्ने गरेका छन् ।

  • प्रकाशित मिति : भदौ १०, २०७९ शुक्रबार १४:१०:११,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया