सिमरामा अन्तर्राष्ट्रिय मन्जुदेवी दोस्रो भेट्रान कप फुटबल प्रतियोगिता हुने

बाराको जितपुरसिमरा उपमहानगरपालिकाको सिमरामा अन्तर्राष्ट्रिय मन्जुदेवी दोस्रो भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । 

यही भाद्र २९ देखि १ असोजसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका विभिन्न सहरका भेट्रान क्लब सहभागी हुने आयोजकले जनाएको छ ।

भारतको दार्जिलिङ, कलकत्ता र सिक्किमको टोली सहभागी हुने सिमरा भेट्रान क्लबका संयोजक हरि चौधरीले जानकारी दिए ।
 
नेपालका चितवन, पर्सा, बारा, काठमाडौं, पोखरा, बुटवल, झापा, विराटनगरलगायतका भेट्रान टिमको प्रतियोगितामा सहभागिता रहनेछ । देशी–विदेशी गरी १९ वटा टिमले खेल्ने चौधरीले जानकारी दिए । 

दैनिक ४ वटा टिमले खेल्ने प्रतियोगितामा अन्तर्राष्ट्रिय भेट्रान प्रतियोगिताको नियम र मापदण्डअनुसार एक टिममा गोलकिपरसहित ८ जना खेलाडीलाई सहभागी गराइनेछ ।
 
प्रतियोगितामा पहिलो हुने टिमले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुनेले ७५ हजार रुपैयाँ र विभिन्न विधामा खेलाडीलाई पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ । 

प्रतियोगितामा प्रत्येक खेलमा एकजनालाई तीन हजारका दरले म्यान अफ दी म्याच र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई तीन हजार ५ सय रुपैयाँ प्रदान गरिने बताइएको छ । 

बारा जिल्लाको खेलकुदको विकास र सिमराको पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले मधेस प्रदेशमै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको भेट्रान प्रतियोगिता गर्न लागिएको सिमरा भेट्रान क्लबका अध्यक्ष विजय (राजकपुर) राउतले जानकारी दिए ।



सिमरा रंगशालामा हुने प्रतियोगितामा अनुमानित १० लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

२०२० फागुन १६ मा जन्मिएकी मन्जुदेवी गुप्ताको सामाजिक महिलाको रूपमा सक्रिय रहँदै गर्दा ४४ वर्षको उमेरमा २०६४ पौष २१ गते स्वर्गारोहण भएको थियो । 



उनकै स्मृतिमा स्थानीय युवाको अगुवाइमा प्रतियोगिता आयोजना गर्न लागिएको भेट्रान सिमराका अध्यक्ष राउतले बताए ।

सिमरामा २०७४ सालमा पहिलो भेट्रान कप सम्पन्न भएको थियो ।

  • प्रकाशित मिति : भदौ १६, २०७९ बिहीबार १८:२०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया