logo-img

धुमधामसँग मनाइयो दुर्वाष्टमी

आज गौरा पर्वको मुख्य दिन अठ्यावली अर्थात् दुर्वाष्टमी बैतडीसहित सुदूरपश्चिममा धुमधामका साथग मनाइएको छ । आजका दिन गौराको पूजाआजा गर्ने गरिन्छ । 

हिजो अमुक्ताभरण सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरुले चढाएको दुबधागो आज ग्रहण गर्ने चलन रहेको संस्कृतिका जानकार एवं पण्डित खेमराज भट्टले  बताए ।

हिजो गौरा घरमा लगिएको गौरालाई खेल खेल्दै आज पूजा गरी बिरुडा सिरमा चढाउने प्रचलन समेत रहेको उनले बताए । महिलाहरु व्रत बसेर गौरा खलामा शिव र पार्वतीको पूजापाठ गर्ने चलन समेत रहेको  उनले बताए । 



यसैगरी दिनमा महिलाहरु हल्लोरी वाला कल्लोरी भन्दै (शिव र पार्वतीको प्रतिमूर्ति) खेलाउने गर्दछन् । गौराखालामा विधिपूर्वक फल फट्काएपछि आजैदेखि नयाँ फलहरु चाख्ने चलन छ । गौरा पर्वको पहिलो दिन बिरुडा पञ्चमीमा घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिन्छ ।

भाद्र शुक्ल वा कृष्ण पञ्चमीका दिनबाट सुरु हुने यो पर्व यो वर्ष भाद्र शुक्ल पक्षमा परेको छ । गौरा पर्वको सुरुवात बिरुडा पञ्चमीबाट हुन्छ । दुर्वाष्टमी अर्थात् अठ्यावाली यो पर्वको मुख्य दिन हो । 

गौरा पर्वको पहिलो दिन महिलाहरुले तामा वा पित्तलका भाँडामा बिरूडा (पाँच प्रकारका अन्न) भिजाउने गर्दछन्  । व्रतालु महिलाहरुले शिव पार्वतीको गाथामा आधारित फागहरु गाएर सामूहिक रुपमा बिरुडा भिजाउने चलन रही आएको छ ।



यो पर्वमा खास गरेर विवाहित महिलाहरुले व्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् । बिरुडापञ्चमीकै दिनदेखि व्रतालु महिलाहरुले गौराको पूजाआजा गर्ने गर्दछन् । यहाँका महिलाले गहुँ, केराउ, गहत, मास र गुराउँस मिसाएर तामा वा पित्तलका भाडामा बिरुडा भिजाउँछन् । पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने चलन छ ।

सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ । शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने चलन रही आएको छ । पञ्चमीका दिन सुरु हुने गौरा पर्व विसर्जन भने हरेक ठाउँको आ–आफ्नै चलनअनुसार गर्ने गरिन्छ ।
 
यस्तै, गौरा पर्वमा  पौराणिक कथामा आधारित देउडा खेल्ने, देवी देवताका गाथा गाउने, चैतली, धुमारी, ढुस्को तथा खेल खेल्ने चलन रही आएको सुर्नया ३ का देउडिया अर्जुन भट्टले  बताए । यसका साथै  डेउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्था लगायतका बारेमा तिखो व्यंग्य गरी देउडा खेल्ने गरिएको उनले बताए ।



  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार २०:५४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया