विराटको शतक र भुवनेश्वरको ५ विकेटमा अफगानिस्तानविरुद्ध भारतको फराकिलो जित

यूएईमा जारी एसिया कप टी–२० क्रिकेट प्रतियोगितामा भारतले सुखद अन्त्य गरेको छ । गएराति सम्पन्न सुपर फोरको खेलमा अफगानिस्तानलाई १०१ रनले हराएसँगै भारतले प्रतियोगिताको सुखद अन्त्य गरेको हो । 

प्रतियोगितामा भारतलाई उपाधि दावेदारको रूपमा हेरिएको थियो । तर, उसले सुपर फोरमा खराब प्रदर्शन गर्‍यो । पाकिस्तान र श्रीलंकासँग हार बेहोर्दा भारत फाइनल पुग्न चुक्यो ।  

समूह चरणको विजेता अफगानिस्तानले पनि सुपर फोर खराब प्रदर्शन गर्‍यो । उसले सुपर फोरमा तीनै खेलमा हारको सामना गरेको हो । आफ्नो अन्तिम खेलमा भारतले दिएको २१३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १११ रन मात्र बनाउन सक्यो । उसका लागि इब्राहिम जाद्रानले ५९ बलमा दुई छक्का र चार चौकासहित अविजित ६४ रन बनाए ।

त्यस्तै, मुजीबउर रहमानले १८ र राशिद खानले १५ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । भारतका लागि भुवनेश्वर कुमारले ४ ओभरमा एक मेडनसहित चार रन दिएर पाँच विकेट लिए । त्यस्तै, दीपक हूडा, रविचन्द्रन आश्विन र अर्शदीप सिंहले एक/एक विकेट लिए ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय मैदानमा टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २१२ रन बनायो । उसका लागि पूर्वकप्तान विराट कोहलीले शतकीय पारी खेले । नियमित कप्तान रोहित शर्माको अनुपस्थितिमा ओपनिङ गरेका कोहलीले ६१ बलमा १२ चौका र ६ छक्काको मद्दतमा अविजित १२२ रन बनाए । 

टी–२० अन्तर्राष्ट्रियमा उनको यो पहिलो शतकीय पारी हो । त्यस्तै, अफगानिस्तानविरुद्ध कप्तान केएल राहुलले ४१ बलमा ६ चौका र दुई छक्कासहित ६२ रन बनाए । त्यस्तै, ऋषभ पन्तले अविजित २० र सूर्यकुमार यादवले ६ रन जोडे । अफगानिस्तानका लागि फरीद अहमदले दुई विकेट लिए । 





  • प्रकाशित मिति : भदौ २४, २०७९ शुक्रबार ६:४९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया