logo-img

महारानी एलिजाबेथ द्वितीयको त्यो नेपाल भ्रमण र राजा वीरेन्द्रको स्वागत

बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति नेपालका नेताहरूले पनि दुःख व्यक्त गरेका छन् । ९६ वर्षको उमेरमा उनको बिहीबार स्कटल्याण्डको वालमोरलमा निधन भएको थियो ।

उनको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दुःख व्यक्त गरेका छन् । उनले एलिजाबेथको नेपाल भ्रमण स्मरण गर्दै भनेका छन्, ‘रानीका सन १९६१ र सन १९८६ मा भएका दुई राजकीय भ्रमणलाई नेपालमा सादरपूर्वक स्मरण गरिन्छ ।’  

चार दिने राजकीय भ्रमणका क्रममा महारानी द्वितीय ६ फागुन २०४२ मा दोस्रोपटक नेपाल आएकी थिइन् । महारानी र उनका श्रीमान् प्रिन्स फिलिपलाई राजा वीरेन्द्र र रानी ऐश्वर्यले स्वागत गरेका थिए । रानी एलिजाबेथ नेपाल आएको २५ वर्ष भइसकेको छ । यसअघि २०१७ सालमा पनि उनी नेपाल आएकी थिइन् ।

चम्किलो पहेँलो कोट र टोपी लगाएकी महारानी एलिजाबेथ र फिलिप पूर्ण सैन्य पोसाकमा, विशेष ब्रिटिश एयरवेज ट्राइस्टारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकी थिइन् ।

नेपाली राजपरिवारलाई अभिवादन गरेपछि उनले गोरखा सेनाको सम्मान गार्डको निरीक्षण गरेकी थिइन् । चम्किलो पहिरनमा सजिएका पाँच नेपाली युवतीले उनलाई माला चढाए । चार दिने भ्रमणमा एलिजाबेथले करिब २ सय सेवानिवृत्त गोर्खा सैनिकसँग भेट गरेकी थिइन् ।



महारानीलाई भेट्ने कार्यक्रममा बेलायतको सर्वोच्च बहादुरी पुरस्कार भिक्टोरिया क्रसका सात धारक र मिलिट्री क्रस वा मिलिटरी मेडल प्राप्त गर्ने ५० जना व्यक्तिहरू थिए । 

सन् १८१४ को एङ्ग्लो नेपाल युद्धपछि गोर्खा सैनिकलाई बेलायतले भर्ती गरेको थियो । गोर्खा सैनिकले पहिलो विश्व युद्ध, दोस्रो विश्वयुद्ध र सन् १९८३ को फकल्याण्ड टापु युद्धसहित धेरै प्रमुख द्वन्द्वहरूमा सेवा गरेका थिए ।



एलिजाबेथको भ्रमणको लागि कडा सुरक्षाको व्यवस्था गरिएको थियो । नेपाल आएको पहिलो दिन रानी एलिजाबेथ र फिलिपले राजधानीको दरबार स्क्वायर क्षेत्रको अवलोकन गरेका थिए । काष्ठमण्डप मन्दिरको मन्दिरको सिँढीबाट रंगिन पोसाक लगाएका सयौं विद्यार्थीहरूले रुमाल, बेलायती र नेपाली झण्डा हल्लाउँदै शाही जोडीको स्वागत गरेका थिए । 

बैजनी साडी लगाएका एक दर्जन युवतीहरूले रानी एलिजाबेथको अगाडि फूलहरू छर्केका थिए । काष्ठमण्डप मन्दिर १६ औं शताब्दीमा एउटै रुखको काठबाट कोरिएको तीन तले काठको प्यागोडा विश्व चर्चित मन्दिर हो । महारानी एलिजाबेथको दोस्रो भ्रमणमा काठमाडौंको साँचो हस्तान्तरण परम्पराको सुरुवात भएको थियो । 

राजकीय भ्रमणका क्रममा महारानी एलिजाबेथ दम्पतीलाई नेपालको पुरानो राजदरबार हनुमानढोका क्षेत्रको निरीक्षणका साथै काष्ठमण्डपमा नगरको साँचो हस्तान्तरणका लागि तत्कालीन राजा वीरेन्द्र, अधिराजकुमार ज्ञानेन्द्र साथै राजपरिवारका अन्य सदस्यहरूका साथै सरकार र स्थानीय निकायहरूले दुई वर्षअघि नै तयारी सुरु गरेका थिए । 

त्यतिबेला काठमाडौंको नगर पञ्चायतका प्रधानपञ्च कमल चित्रकार थिए । महारानी एलिजाबेथले आगन्तुक पुस्तिकामा हस्ताक्षर गरिन् । र, मेयर कमल चित्रकारले शहरको चाबी दिएका थिए । महारानी एलिजाबेथलाई काष्ठमण्डपमा काठमाडौं नगरको परम्परागत साँचोको प्रतीक हस्तान्तरण गर्ने जिम्मा उनलाई नै दिइएको थियो । ‘महारानी एलिजाबेथलाई नेवाः परम्पराअनुसार दुलहीलाई जस्तै काष्ठमण्डपमा भित्र्याएर नगरको साँचो हस्तान्तरण गर्ने योजना थियो । यो आइडिया राजा वीरेन्द्रकै थियो ।

त्यसपछि महारानी, फिलिपलाई राजा वीरेन्द्रले नारायणहिटी दरबारमा स्वागत गरेका थिए । भ्रमणको ​दोस्रो दिन शाही जोडीले रोयल बङ्गाल बाघ र दुर्लभ एसियाली एकसिङ्गे गैँडाको अवलोकन गर्न चितवन राष्ट्रिय निकुञ्ज गएको थियो ।

एलिजाबेथ विश्वकै लामो समय सत्तामा रहने शासकको सूचीमा फ्रान्सेली शासक लुइस १४ औँपछि दोस्रो स्थानमा पर्छिन् । कम्तीमा ११७ देशको भ्रमण गरिसकेकी एलिजाबेथ संसारकै सबैभन्दा धेरै यात्रा गर्ने राष्ट्राध्यक्ष पनि हुन् ।

१६ लाख किलोमिटरभन्दा बढी यात्रा गरिसकेकी उनी २१ हजार बढी समारोहमा सहभागी भइसकेकी छन् । बाल्यकालमा अधिकांश समय घोडा र कुकुरहरूसँग खेलेर बिताएकी एलिजाबेथ राजकुमारी रहँदा राजपरिवारमा दोस्रो मर्यादा क्रममा थिइन् ।

यसको अर्थ उनी महारानी बन्ने सम्भावना लगभग शून्य थियो । तर, सन् १९३६ डिसेम्बरमा राजा एडवार्ड तेस्रोले अमेरिकी महिलासँग विवाह गर्नका लागि सिंहासन त्याग्ने निर्णय लिएपछि १० वर्षकी एलिजाबेथलाई दरबारको उत्तराधिकारी बन्ने बाटो खुल्यो ।

उनका बुबा राजकुमार अल्बर्टलाई राजा जर्ज चौथोको उपाधि मिलेपछि जेठी छोरी एलिजाबेथ उत्तराधिकारी बनिन् । पिताको निधनपछि ६ फेब्रुअरी सन् १९५२ मा २५ वर्षको उमेरमा एलिजाबेथ द्वितीयले गद्दी आरोहण गरेकी हुन् ।

  • प्रकाशित मिति : भदौ २४, २०७९ शुक्रबार १०:३७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया