कमाइ खाने भाँडो बन्दै उपभोक्ता समिति, लागतभन्दा बढी भुक्तानी लिँदै

कालीकोटको अल्लोभागो प्रशोधन केन्द्रको भवन निर्माण उपभोक्ता समितिका पदाधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २४ साउनमा विशेष अदालतमा आरोपपत्र दायर गर्‍यो । आयोगले समितिका अध्यक्ष नन्दप्रसाद पाण्डे, सचिव नरेन्द्रप्रसाद पाण्डे र कोषाध्यक्ष विनिता राना (पाण्डे) विरुद्ध अदालतमा आरोपपत्र दायर गरेको हो ।

उनीहरूले अल्लोभागो प्रशोधन केन्द्रका लागि भवन निर्माण कार्यमा झुटो बिल बनाएर श्रेस्तामा समावेश गरी कोलीकोटको साविक जिल्ला विकास समितिको कार्यालयबाट आर्थिक वर्ष २०७०/०७१ मा २ लाख ५१ हजार बढी रकम भुक्तानी लिएर आर्थिक हिनामिना गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

गत २४ साउनमा विशेष अदालतमा अख्तियारले दायर गरेको अर्को आरोपपत्रमा समेत उपभोक्ता समितिले नक्कली बिलका आधारमा भुक्तानी लिएको उल्लेख छ । मुगुको छायाँनाथ रारा नगरपालिका–१४ स्थित चंखेली हिमालदेखि दूधताल सातदहसम्म पर्यटकीय मार्ग निर्माणमा अनुसन्धान हुँदा डिभिजन वन कार्यालय, मुगुका डिभिजन वन अधिकृतसहित दुई इञ्जिनियरले बदमासी गरेको पाइएको हो ।  

अख्तियारका अनुसार वन अधिकृत भरतबहादुर बुढथापा, सब–इञ्जिनयर हिमालकुमार मल्ल र सब–इञ्जिनियर गोरसिंह बडुवालसमेतको मिलोमतोमा उक्त सडक निर्माण सम्झौतामा निर्धारित शर्त तथा मापदण्डविपरीत निर्माण गरी गराई, झुट्टा नापी किताब, मूल्याङ्कन बिल, उपभोक्ता समितिको बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरी सोही कागजातको आधारमा भएको वास्तविक कामभन्दा २० लाख ४८ हजार ४ सय ३ रुपैयाँ ५४ पैसा उपभोक्ता समितिलाई भुक्तानी गरेका थिए । 

सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र बहादुर बुढा, उपाध्यक्ष गनलाल बडुवाल, कोषाध्यक्ष चौरसिला बुढा र सचिव लक्ष्मण बुढासमेतले डिभिजन वन कार्यालयसँग गरेको सम्झौताको शर्त तथा मापदण्ड पालना नगरेको, वास्तविक कामभन्दा बढी काम गरेको भन्ने जनाएको अख्तियारले बताएको छ । आयोगका अनुसार झुट्टा नापी किताब, मूल्याङ्कन बिल, उपभोक्ता समितिको बिल र कार्यसम्पन्न प्रतिवेदनसमेत तयार गरी गराई सोही झुट्टा कागजातको आधारमा वास्तविक कामको रकमभन्दा बढी भुक्तानी लिइएको पाइएको छ । 

त्यस्तै, तटबन्धन निर्माणको लागि आएको तारको जाली बिक्री गरी रकम हिनामिना गरेको आरोपमा अख्तियारको कार्यालयले गत सोमबार ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र (चार्जसिट) दायर गरेको छ । मुगुको सोरु गाउँपालिका–४ स्थित दैरीखोला रावलवाडा तटबन्धन कार्यक्रम उपभोक्ता समितिसमेतले उक्त आयोजनामा कार्यको मूल्यांकनभन्दा बढी १८ लाख १० हजार ८४ रुपैयाँ हिनामिना गरेको अख्तियारको आरोप छ ।



यस घटनामा उपभोक्ता समितिले आर्थिक अनियमितताका लागि मुख्य भूमिका निभाएको देखिन्छ । उक्त आयोजनाको उपभोक्ता समितिका अध्यक्ष हस्तवीर दमाई, सचिव लोकजङ्ग दमाई र कोषाध्यक्ष भीमलाल दमाईले तटबन्धन आयोजनाको लागत अनुमान अनुसारको कार्य नगरी प्रहरी चौकी सोरुवर्माका प्रहरी कर्मचारीलाई स्थलगत रुपमा घटनाको अवलोकन नगराई जाली बाढीले बगाएको भन्ने झुठा मुचुल्का तयार गरेका थिए । 

सोही आधारमा उनीहरूले १८ लाख रुपैयाँ बढी भुक्तानी लिएर गैरकानुनी लाख लिएको अख्तियारको आरोपत्रमा उल्लेख छ । यस घटनामा भू तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेरबहादुर श्रेष्ठ र सब–इञ्जिनियर दानबहादुर बुढाथापाले मूल्यांकनभन्दा बढी भुक्तानी दिई आर्थिक हिनामिनामा सामेल भएको अख्तियारको आरोप छ ।



सोरु गाउँपालिका–४ का वडाध्यक्ष डवले शाहीले समेत जाली बाढीले बगाएको भनेर हचुवाको भरमा योजनाको काम सम्पन्न भएकोले भुक्तानी गरिदिन सिफारिस गरेको अख्यिारको आरोप छ । चालू आर्थिक वर्षको सुरुवातसँगै अख्तियारले २१ वटा आरोपपत्र विशेष अदालतमा दर्ता गरेको छ । ती आरोपपत्रमध्ये ९ वटा आरोपपत्र कर्णालीसँग सम्बन्धित छन् । 

यसका साथै कर्णाली प्रदेशसँग जोडिएका आरोपपत्रमध्ये पाँचवटा आरोपपत्र उपभोक्ता समितिसँग जोडिएका छन् । उपभोक्ता समितिमार्फत भएका विकास निर्माणका आयोजनामा आर्थिक अनियमितता हुने गरेको सर्वसाधारणले समेत व्यापक गुनासो गर्न थालेका छन् ।  

कर्णालीमा उपभोक्ता समिति गठनका विषयमा समेत चरम लापरबाही भइरहेका हुन्छन् । सर्वसाधारणका अनुसार यहाँ उपभोक्ता समितिमा एकै घरका सदस्यसमेत रहेको पाइएको छ । तर, केही उपभोक्ता समितिमा लाभान्वित नागरिकलाई नै समावेश गरिएको छैन । जसकारण पनि उपभोक्ता समितिले बदमासी गर्ने गरेका सर्वसाधारणको भनाइ छ ।

विकास आयोजनाको लाभान्वित तथा प्रयोग अधिकार रहेका नागरिकलाई नै उपभोक्ता समितिमार्फत उक्त संरचनाको संरक्षण समेतको जिम्मेवारी आइपुग्छ । यसकारण पनि उपभोक्ता समिति गठनदेखि नै पारदर्शिता अपनाउनुपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सुर्खेत कार्यालयका उप–सचिव भेषराज रिजाल बताउँछन् ।

‘उपभोक्ता समिति गठन प्रक्रिया पारदर्शी हुन जरुरी छ । सबैको भेला गराएर उपभोक्ता समिति चयन निष्पक्षता रहनुपर्छ’, उनले भने । यस विषयमा पारदर्शिता कायम राख्नु नै मुख्य आवश्यकता रहेको रिजाल बताउँछन् ।

बोलपत्र तथा ठेक्का प्रक्रियामा निर्माण व्यवसायीहरू बोलकबोल प्रक्रियामा जान्छन् । तर, उपभोक्ता समितिबाट काम गर्दा भने आवश्यकताका आधारमा एक करोड रुपैयाँसम्मको बजेटमा काम गर्न सकिन्छ । जसकारण उपभोक्ता समितिले विकास निर्माणमा आवश्यकताका आधारमा अनुमानित लागतमा काम गर्ने गरेका छन् । यसको फाइदा उठाउँदै उपभोक्ता समितिका पदाधिकारी तथा सम्बन्धित कर्मचारीले आर्थिक अनियमितता गर्ने मौका पाउने गरेका उप–सचिव रिजालले बताए । 

  • प्रकाशित मिति : भदौ २६, २०७९ आइतबार ११:५३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया