महाअभियोग सिफारिस समिति बैठक बुधबार पनि बस्ने, प्रत्यक्ष प्रसारण गर्न एमालेको माग

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पुरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन बुधबार (भोलि) पनि महाअभियोग सिफारिस समितिको बैठक बोलाइएको छ ।

समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिने क्रम सकिएपछि पुरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन भोलि बिहान ९ बजे समितिको बैठक पुनः बोलाइएको हो । 

जबरासँगको प्रश्नोत्तरसहितको बयान लिने काम सकिएकाले पुरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन बैठक बोलाउने निर्णय गरिएको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिए । 

जबरालाई सोध्न समितिले ४३ वटा प्रश्नावली तयार गरेको थियो । आजको बैठककमा प्रश्न नम्बर ३६ देखि ४३ नम्बर सम्मको प्रश्न सोधी जवाफ लिने काम भएको समितिको जनाएको छ । 

प्रवक्ता गौतमका अनुसार निलम्बित प्रधानन्यायाधीश जबराले बयानको क्रममा आरोप लगाएका व्यक्तिहरुलाई पनि आवश्यकताअनुसार बयान लिने समितिको योजना छ । 

यसैबीच, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले भने महाअभियोग सिफारिस समितिका सबै बैठकहरु प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउन समितिसँग माग गरेको छ । 



यसअघिका बैठकका निर्णयहरु गलत ढंगले आमसञ्चार माध्यममा प्रसारण भएकाले त्यसो हुन नदिन अबका सबै बैठक प्रत्यक्ष प्रसारण हुने व्यवस्था मिलाउन आफूहरुले माग गरेको एमालेका उपाध्यक्ष एवं समितिका सदस्य विष्णु पौडेलले जानकारी दिए । 

एमालेले सत्तारुढ दलका नेताहरुले समितिको गतिविधिलाई आफूअनुकूल हुने गरी समाचार माध्यममा दिएको भन्दै बैठकमा असन्तुष्टि जनाएको थियो । 



  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार १७:५२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया