भारतलाई हराएर साफ यू-१७ को उपाधि जित्ने लक्ष्यमा नेपाल

श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत खेल्दै छन् । यी दुई टोलीबीचको फाइनल भिडन्त राति ८ः१५ देखि कोलम्बोस्थित रेस कोर्स ग्राउन्डमा सुरु हुनेछ । 

नेपाल समूह विजेताको रूपमा फाइनलमा पुगेको हो । समूह चरणमा नेपालले दुईवटै म्याचमा लगातार जित हात पार्‍यो । समूह चरणमा नेपालले पहिलो खेलमा भुटानलाई २–१ र दोस्रो खेलमा भारतलाई ३–१ ले हरायो । सेमिफाइनलमा नेपालले आयोजक तथा समूह ‘बी’ को उपविजेता श्रीलंकालाई ६–० गोल अन्तरले पाखा लगायो ।

अपराजित रहेको नेपाल उच्च मनोबलमा छ । नेपालको अबको लक्ष्य भारतलाई हराउँदै उपाधि जित्नु हुनेछ । भारतको रणनीति समूह चरणको बदला लिँदै उपाधि आफ्नो पक्षमा पार्नु हुनेछ । 

भारतले समूह चरणमा भुटानलाई ३–० ले हराउँदा नेपालसँग ३–१ ले पराजित भयो । सेमिफाइनलमा उसले बंगलादेशविरुद्ध २–१ को रोमाञ्चक जित हात पार्‍यो । 

साफ यू–१७ को नाममा पहिलोपटक आयोजना भइरहेको यो प्रतियोगितालाई यसअघि यू–१६ र १५ को नामबाट सञ्चालन गरिएको थियो । पहिलोपटक सन् २०११ मा साफ यू–१६ च्याम्पियनसिपका रूपमा आयोजना भएको प्रतियोगिताको पछिल्लो संस्करण २०१९ मा यू–१५ उमेर समूहमा आयोजना गरियो ।

यसअघि यू–१६ र १५ उमेर समूहमा नेपाल र भारतले आठ खेलमा एकअर्काको सामना गरे । जसमा सबै खेल भारतले जित्यो । यी दुई टोलीले पहिलोपटक २०११ को साफ यू–१६ च्याम्पियनसिपको सेमिफाइनलमा एकअर्काको सामना गरेका थिए । सो खेल भारतले ट्राइब्रेकरमा ४–२ ले आफ्नो पक्षमा पार्‍यो ।



निर्धारित ९० मिनेट र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको थियो । सन् २०१९ मा साफ यू–१५ च्याम्पियनसिप अन्तर्गतको पछिल्लो भेटमा भारतले ७–० को सहज जित निकालेको थियो ।  



  • प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार ७:४४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया