खेलकुदमा कर्णालीको प्रदर्शन कमजोर, नवौं प्रतियोगितामा सुध्रिने आशा
फाइल फाेटाे

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट प्रदेशगत सहभागिताको शुरुवात भएको हो । २०७५ सालमा आयोजित राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र एनआरएनए समूहले समेत सहभागिता जनाएका थिए । कर्णालीसहित ११ समूहले यस खेलमा सहभागिता जनाएको थिए ।  

लुम्बिनी प्रदेशमा आयोजित प्रतियोगितामा विभागीय टोलीले पदक तालिकामा वचर्स्व कायम गर्दा त्रिभुवन आर्मी क्लब सर्वाधिक स्वर्ण जित्दै टिम च्याम्पियन बन्यो । 

नेपाल आर्मीले एक सय ४० स्वर्ण, ८२ रजत र ६७ कास्यसहित कूल दुई सय ८९ पदक जित्यो । 

नेपाल पुलिस ६२ स्वर्णसहित दोस्रो र एपीएफ ५४ स्वर्णका साथ तेस्रो भयो । पुलिसले ४९ रजत र ४६ कास्य पनि जित्यो । 

यस्तै, एपीएफले ६९ रजत र ८० कास्य पदक जित्यो । पहिलो पटक सहभागिता जनाएको एनआरएनएले ६ स्वर्ण २ रजत र ५ कास्यसहित कूल १३ स्वर्ण जित्यो । ११ टोली सहभागी आठौँमा एनआरएनए १०औँ हुँदा तीन स्वर्ण जितेको कर्णाली अन्तिममा नै रह्यो ।

यस खेलमा कर्णालीले तीन स्वर्ण, चार रजत, १७ कास्यसहित २४ पदक जितेको थियो । कर्णाली तथा यसअघिको तत्कालीन मध्यपश्चिम विकास क्षेत्र भूगोलमा खेलको अवस्था त्यति राम्रो रहेको देखिँदैन । राष्ट्रियस्तरका प्रतियोगितामा यस क्षेत्रले राम्रो खेल प्रदर्शन गर्न पाएको छैन । 



२०३८ सालमा प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । तारो हान्ने, बुद्धिचाल, क्रिकेट, कबड्डी, बाघचाल लगायतका १६ खेल समावेश उक्त प्रतियोगितामा अञ्चलगत रूपमा १४ समूहले प्रतिष्पर्धा गरेका थिए । 

डोल्पा, जुम्ला, हुम्ला, कालिकोट र मुगु समावेश भएको कर्णाली अञ्चल समूहले कुनै पनि पदक हासिल गरेन । तर, जाजरकोट, दैलेख, सुर्खेत, बाँके र बर्दिया समावेश रहेको भेरी अञ्चल समूहले भने दुई स्वर्ण, ६ रजत र तीन कास्य पदकसहित ११ पदक जितेर आठौँ स्थानमा थियो । 



यस प्रतियोगितामा कर्णाली अञ्चल १४ औं स्थानमा नै रह्यो । कुनै पदक प्राप्त नगरे पनि कर्णाली अञ्चलले सो समयमा पोशाक विधामा पुरस्कार पाएको थियो ।

२०४० सालको दोस्रो राष्ट्रिय प्रतियोगितामा भने भेरी अञ्चलले खेलमा केही सुधार गरेको देखिन्छ । सात स्वर्ण, चार रजत र दुई कास्यसहित १३ पदकको साथमा भेरी अञ्चल चौथो स्थानमा उक्लियो । तर, कर्णाली अञ्चलले भने यस पटक पहिलो कास्य पदकसहित अन्तिम १४ औं स्थानमै रह्यो । 

२०४२ को तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत कर्णाली अञ्चलले एउटा कास्य पदकसहित अन्तिम स्थानमै रह्यो । यस प्रतियोगितामा कुल २५ पदकसहित भेरी अञ्चल चौथो स्थानमा रह्यो ।

२०५५ सालमा आयोजित चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा सात समूहले प्रतिष्पर्धा गर्दै थिए । अञ्चलका आधारमा प्रतिष्पर्धा हट्यो र तत्कालीन पाँचवटा विकास क्षेत्रले भौगोलिक आधारमा प्रतिष्पर्धा गर्ने भए । 

यसपटक नेपाली सेना र नेपाल प्रहरीले समेत छुट्टै समूहगत रूपमा प्रतियोगितामा सहभागिता जनाएका थिए । यहाँबाट भने हालको कर्णाली क्षेत्रको खेलकुदमा केही सुधार आएको देखिन्छ । 

चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा मध्यपश्चिमाञ्चल विकास क्षेत्रले सात स्वर्ण, १५ रजत र ३२ कास्यसहित ५४ पदक ल्याएको थियो । यसका साथै मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाटै उत्कृष्ठ पुरुष खेलाडीका रूपमा रवि महर्जन विजेता बने । यस समूहमा कर्णाली अञ्चल, भेरी अञ्चल र राप्ती अञ्चलका पाँच–पाँचवटा जिल्लाका खेलाडी समावेश थिए ।

१० वर्षपछि पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भयो । ०५५ यता प्रतियोगिता आयोजना नै भएनन् । २०६५ को पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितामा जनमुक्ति नामक समूहले समेत सहभागिता जनायो । यस खेलमा नेपाली सेनाले समेत उत्कृष्ठ प्रदर्शन गर्न सकेन । 

मध्यपश्चिमाञ्चल समूह भने १० स्वर्ण, २१ रजत र ४८ कास्यसहित कुल ७९ पदकका साथ छैठौं भयो । छैठौं प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खेलाडीको भने सहभागिता रहेको थिएन । कुल ३१ खेल समावेश गरिएको यो प्रतियोगितामा ३०५ स्वर्ण, ३०५ रजत र ४५२ कास्यपदकका लागि एक हजार ६२ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७३ मा आइपुग्दा नेपाली सेना शीर्ष स्थानमा रहेको थियो । कुल दुई सय ९४ स्वर्ण दुई सय ९४ रजत र ४७१ कास्य गरी एक हजार ३५ पदकमध्ये सम्पन्न खेलमा वचर्स्व कायम राख्दै नेपाली सेनाले एक सय आठ स्वर्ण, ६१ रजत र ४३ कास्य गरी २१२ पदकमाथि कब्जा जमाई खेलको पदक तालिकामा आफुलाई शीर्ष स्थानमा राखेको थियो ।

यसैगरी सशस्त्र प्रहरीले ४७ स्वर्ण, ४३ रजत र ५६ कास्यसहित १४६ पदक प्राप्त गर्दै खेलको पदक तालिकामा दोस्रो तथा नेपाल प्रहरीले ४० स्वर्ण, ३७ रजत र ४० कास्य पदक सहित एक १७ पदक प्राप्त गर्दै खेल पदकमा तेस्रो स्थान प्राप्त गरेका थिए । 

त्यसैगरी खेलको पदक तालिकामा मध्यमाञ्चल टोलीले ३१ स्वर्ण, ४९ रजत र ५७ कास्यसहित एक सय ३७ पदक जितेको थियो । पश्चिमाञ्चलले सात स्वर्ण, २१ रजत र ३४ कास्यसहित ६४ पदक हात पारेका थिए । 

पूर्वाञ्चलले छ स्वर्ण, १६ कास्य र ४७ रजतसहित ६९ पदक र सुदूरपश्चिमाञ्चलले चार स्वर्ण, ११ रजत र ५९ कास्यसहित ७४ पदक प्राप्त गरेका थिए । यस खेलमा आठ स्वर्ण, ४२ रजत र १४ कास्यसहित ६४ पदकका साथमा मध्यपश्चिमाञ्चल पाचौं स्थानमा थियो ।

नवौं प्रतियोगिताको आशा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले २९ खेलमा सहभागिता जनाउने भएको छ । गण्डकी प्रदेशको पोखरामा २८ असोजदेखि ३ कात्तिकसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कुल ३६ खेल आयोजना हुने छन् ।

नवौं राष्ट्रिय खेलकुदमा कर्णालीले केही सुधार गर्न सक्ने आशा छ । तर, पूर्ण रूपमा भने कर्णाली विश्वस्त छैन ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले भने, ‘कोभिड संक्रमण अवस्थाका कारण पनि कर्णाली लगायतको खेलकुद क्षेत्रमा प्रभाव पारेको छ । फेरि हाम्रा कर्णालीका खेलाडी विभागीय समूहबाट राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै छन् ।’

नवौं राष्ट्रिय प्रतियोगिताका लागि कर्णालीका खेलाडी छनोट भइसकेका छन् । उनले भने, ‘हामीले कर्णालीका प्रतिभा छनोट गरेका छौँ । उनीहरूलाई प्रतिष्पर्धी बनाउन बन्द प्रशिक्षणका राख्ने तयारी गरिरहेका छौँ । अघिल्लोभन्दा यसपालि कर्णालीले खेल पक्कै सुधारेको छ ।’

संघीयतापछि कर्णालीका प्रदेशको खेलकुद परिषद् गठन भई यसले आफ्नो कार्यप्रारम्भ गरिसकेको अवस्था छ । कर्णालीका लागि अहिले मुख्य रूपमा भलिबल नै प्राथमिकतामा छ । यसबाहेकका खेलमा खेलाडी पनि धेरै छैनन्, यसका साथै सो किसिमका पूर्वाधारको समेत प्रदेशमा अभाव छ ।

राष्ट्रिय खेलकुद परिषद् सदस्य नन्दा बस्याल भन्छिन्, ‘कर्णाली प्रदेशमा हेर्दा १० जिल्लामध्ये चार जिल्लामा मात्र खेलकुदका गतिविधि भएको देखिन्छ । सुर्खेत, दैलेख, सल्यान र रूकुम पश्चिममा अन्य जिल्लामा तुलनामा खेलका गतिविधि अलि बढी नै भएका छन् ।’ 

भलिबलबाहेकका खेलका विषयमा कर्णालीमा न्यून जनशक्ति तथा पूर्वाधार रहेको उनी स्वीकार्छिन् । 

उनका अनुसार कर्णालीका खेल क्षेत्रमा सहभागी हुने नयाँ पुस्ताले समेत यस क्षेत्रमा निरन्तरता दिन नसकेको अवस्था छ । अध्ययनका लागि सदरमुकाम झर्नेहरूमध्ये केहीले खेलमा रुची देखाउँछन् । सोही अनुसारको तालिम लिन्छन् तथा प्रशिक्षण लिँदै जान्छन् । तर, जीविकोपार्जनको समस्याका कारण उनीहरूलाई खेल क्षेत्र नै त्याग्नुपर्ने बाध्यता आइपुग्छ । 

यस अवस्थामा प्रदेश खेलकुद परिषद्ले आफ्ना कार्यक्रमलाई खेलाडी उत्पादन तथा उनीहरूको निरन्तरताका लागि तयार गर्नुपर्ने उनको सुझाव छ ।

प्रदेश खेलकुद परिषद्, प्रशिक्षक र खेलाडीबीचको समान योगदानले मात्र कर्णालीमा खेलकुद विकास सम्भव रहेको उनले बताइन् ।
 

  • प्रकाशित मिति : भदौ ३०, २०७९ बिहीबार १९:२६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया