सत्ता गठबन्धनमा प्रत्यक्षतर्फको सिट बाँडफाँटमा कहिले जुट्ला सहमति ?

आसन्न संघ र प्रदेश निर्वाचनको प्रक्रिया सुरु भएसँगै राजनीति दलका शीर्ष नेताहरू थप व्यस्त हुन थालेका छन् । अहिले दलका नेताहरूबीच दिनहुँ भेटवार्ता र छलफल भइरहेका छन् ।

आउँदो ४ मंसिरमा हुन लागेको आमनिर्वाचनमा सत्ता गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ । निर्वाचनका लागि दलहरू अहिले उम्मेदवार छान्ने काममा जुटेका छन् । एमालेसहित गठबन्धन बाहिर रहेका दलहरूलाई चुनावका लागि उम्मेदवार छान्न खासै समस्या हुने देखिदैन । तर, गठबन्धनलाई भने उम्मेदवार मात्र होइन सिट बाँडफाँटकै कुरामा सहमति जुटाउन सकस भइरहेको छ ।

एक महिनादेखि सिट बाँडफाँटको विषयमा शीर्ष नेताहरूबीच पटकपटक छलफल भएको छ । तर, नेताहरू आ–आफ्नो अडानबाट पछि नहटेपछि सिट बाँडफाँटको विषय टुंगिन समय लागेको हो ।  प्रत्यक्षतर्फको सिट भागबण्डामा सहमति जुटाउन फेरि गठबन्धनका दलहरूले छलफललाई तीव्रता दिएका छन् । 

सोमबार समानुपातिकको सूची निर्वाचन आयोगमा बुझाएका सत्ता गठबन्धनका दलहरूले प्रत्यक्षतर्फको भागबण्डाका लागि छलफललाई फेरि निरन्तरता दिएका हुन् । सत्ता गठबन्धनका शीर्ष तहका नेतासहित सिट बाँडफाँट कार्यदलको बैठक मंगलबार बालुवाटारमा बसेको छ । 

२० साउनमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल गठन गरेको थियो । ११ सदस्यीय कार्यदलको संयोजक नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन् ।

कार्यदलको बैठकले सिट बाँडफाँटको विषयमा सहमति जुटेपछि शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाउने बताइएको छ । सहमति जुट्न नसकेको क्षेत्रको विषयको टुंगो लगाउने जिम्मा भने शीर्ष नेताहरूलाई दिने कार्यदल बैठकको तयारी छ । 



कार्यदल बैठकमा नेपाली कांग्रेसबाट सिटौलासहित महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् । माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।



  • प्रकाशित मिति : असोज ४, २०७९ मंगलबार ११:४३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया