गजुरीमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु, सडक अवरुद्ध

धादिङको गजुरी गाउँपालिका वडा - १ गजुरी बजारमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएपछि गजुरी बजार तनावग्रस्त बनेको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करले स्थानीय छ वर्षीय विजय परियारको घटनास्थलमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राकेश सिंहका अनुसार गजुरीकै आदर्श माविमा अध्ययनरत परियारलाई विद्यालय जाने क्रममा बसले ठक्कर दिएको हो ।

घटनापछि स्थानीयले ठक्कर दिने बसमा आगजनीसमेत गरेका छन् । सडक अवरुद्ध पारेका छन् । अहिले पृथ्वीराजमार्ग हुँदै गुड्ने सवारी गजुरी आसपासमै रोकिएका छन् । सडक खुलाउन स्थानीय र पीडितका आफन्तहरूसँग छलफल भइरहेको प्रहरीले जनाएको छ । 

गजुरीमा लाग्ने भीड कम गर्न प्रहरीले राजमार्गका ठाउँ–ठाउँमा सवारी रोकेका छन् । बसमा लगाएको आगो धुनिबेँसीबाट गएको दमकलले नियन्त्रणमा लिएको छ । आक्रोशित भीडले सडकमा नाराबाजी गरिरहेका छन् ।

घटनास्थलमा थप भीड बढ्न नदिन प्रहरीले काठमाडौंतर्फको गल्छी बजार र मुग्लिन तर्फको बेनिघाट क्षेत्रमा सवारी रोकेको छ । सयौँ सवारी जाममा परेका छन् । एम्बुलेन्सलाई भने प्रहरीले स्कटिङ गरेर पास गराइरहेको छ । 





  • प्रकाशित मिति : असोज ६, २०७९ बिहीबार १३:४८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया