दुर्घटना बढेको भन्दै सवारी साधनमा बीमा र यान्त्रिक परीक्षण अनिवार्य
फाइल तस्बिर

आजबाट लामो तथा छोटो दूरीका यातायातको यान्त्रिक परीक्षण अनिवार्य गरिएको छ । काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दूरीका सवारी साधनले आजदेखि अनिवार्य यान्त्रिक परीक्षण गराउनुपर्छ । दशैँको समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको हो ।

त्यस्तै सरकारले बीमा नगरेका यात्रुबाहक सवारी साधन गुडाउन पनि रोक लगाएको छ । दशैँमा सवारी दुर्घटना र जनधनको क्षति हुन थालेको भन्दै गृह मन्त्रालयद्वारा गठित समितिले बीमा नगरेका यात्रुबाहक सवारी साधन गुडाउन र यान्त्रिक परीक्षण नगरी सवारी गुडाउन रोक लगाउने निर्णय गरेको हो ।  

दुर्घटना भई बिरामीको हवाई मार्गबाट अस्पतालसम्म लैजानु पर्ने भएमा यातायात व्यवसायी महासङ्घले नै खर्च बेहोर्नुपर्ने छ । सरकारले शनिबार सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरण एवं समाधानका लागि समन्वय गर्न गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा समिति गठन गरेको थियो । 

उक्त समितिको बैठक बसेर सार्वजनिक यातायातबाट हुने यात्रा सुरक्षित र व्यवस्थित गर्न १४ बुँदे निर्णय गर्दै बीमा र सवारी यान्त्रिक जाँचलाई कडाइका साथ लागू गर्ने उल्लेख गरेको छ । लामो दुरीका हरेक सार्वजनिक सवारी साधनमा प्राथमिक उपचार किट, प्रहरी हटलाइन नम्बर लगायत व्यवस्था मिलाउनु पर्ने छ । 

तीव्र गतिमा सवारी चलाए तत्कालै प्रहरीलाई खबर गर्न सकिने र त्यसका लागि हटलाइन व्यवस्था मिलाइने छ । मादक पदार्थ र लागू औषध सेवन गरी सवारी चलाउने प्रवृत्ति निरुत्साहित गर्न फिल्डमै किटबाट परीक्षण गरिने, लागूपदार्थ प्रयोग गरे नगरेको पत्ता लगाउन प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोबाट टोली खटिने पनि निर्णय पनि समितिले गरेको छ । 

दुर्घटना न्यूनीकरणमा पूर्व सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, डिभिजन सडक कार्यालय, प्रदेश पूर्वाधार कार्यालय, यातायात व्यवस्था कार्यालय तथा यातायात व्यवसायी महासङ्घका सदस्य सहभागी समिति गठन गर्नुपर्ने भएको छ। 





  • प्रकाशित मिति : असोज ९, २०७९ आइतबार ९:३४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया