मधेस प्रदेशमा ४२३ जनामा डेंगु संक्रमण पुष्टि

जनकपुरधाम, २० असोज । मधेस प्रदेशमा ४२३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मधेस प्रदेशका आठवटै जिल्लामा गत आर्थिक वर्षको साउनदेखि चालू आर्थिक वर्षको १९ असोजसम्म डेंगुबाट संक्रमित हुनेको संख्या ४२३ पुगेको हो ।

डेंगुबाट सबैभन्दा बढी बारामा ९२ जना संक्रमित भएको निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिए । उनका अनुसार सर्लाहीमा ८६, रौतहटमा ७८, पर्सामा ६०, महोत्तरीमा ४१, सप्तरीमा २५, सिरहामा २३ र धनुषामा १८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । 

गजेन्द्र नारायण सिंह अस्पताल राजविराज, प्रादेशिक अस्पताल जनकपुर, नेशनल मेडिकल कलेज पर्सा, प्रादेशिक अस्पताल कलैया, प्रादेशिक अस्पताल लहान, प्रादेशिक अस्पताल मलंगवा, प्रादेशिक अस्पताल जलेश्वरलगायतका अस्पतालमा उपचारको क्रममा संक्रमित फेला परेका हुन् । 

देशभर डेंगुका विरामी बढ्न थालेपछि निर्देशनालयले प्रदेशका अस्पतालमा उपचारका लागि आएका विरामीको निगरानी गरेको थियो । डेंगु संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरस संक्रमण हो । बालरोग विशेषज्ञ डा. विकास साह भन्छन्, ‘डेंगु संक्रमितलाई एकदम धेरै ज्वरो आउछ । शरीर तथा हातखुट्टा बेस्सरी दुख्न थाल्छन् । यो लक्षण भएका विरामीले डेंगुको चेकजाँच गर्नैपर्छ ।’

पहिलो लक्षणसँगै पेट दुख्ने, धेरै उल्टी हुने, अलिअलि रिँगटा लाग्ने, बेहोश जस्तै हुने वा चक्कर लागिरहने राख्ने भएमा डेंगुको दोस्रो लक्षण भएको हुनसक्छ । यसले शरीरमा रक्तचाप घटाउँदै लैजान्छ र अन्त्यमा मानिसको मृत्यु पनि हुन सक्ने डा. साहले जानकारी दिए । 

त्यस्तै, मधेस स्वास्थ्य विज्ञान प्रष्तिठानका डा. रविरञ्जन प्रधानले मधेस प्रदेशमा अहिले डेंगु रोगको प्रकोप बढिरहेकाले यसबाट बच्नका लागि सचेतना अपनाउन सर्वसाधारणसँग आग्रह समेत गरे । 





  • प्रकाशित मिति : असोज २०, २०७९ बिहीबार १९:१५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया