मोरङमा एमाले र जसपाबीच चुनावी तालमेल

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र जनता समाजवादी पार्टीबीच मोरङमा चुनावी तालमेल हुने निश्चित भएको छ । पार्टी केन्द्रकै निर्णय बमोजिम मोरङमा दुवै दलले चुनावी तालमेल गर्ने निश्चित भएको हो । 

मोरङमा ६ वटा प्रतिनिधिसभा र १२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र छ । दुवै दलबिच चुनावी तालमेल हुँदा पाँच प्रतिनिधिसभा र १० वटा प्रदेशसभाको सिट एमालेले पाउने भएको छ । त्यस्तै जसपाले एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभामा सिट पाउने टुङ्गो लागेको सो पार्टीका केन्द्रीय सदस्य मृत्युञ्जयकुमार झाले जानकारी दिए । 

एमालेले प्रतिनिधिसभामा पाउने सिटका लागि क्षेत्र नम्बर १ मा घनश्याम खतिवडा, २ मा ऋषि केश पोखरेल, ३ मा भानुभक्त ढकाल, ४ मा विनोद ढकाल र क्षेत्र नम्बर ६ मा लालबाबु पण्डितलाई अघि सार्ने भएको छ । 

त्यस्तै प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ (क) मा उमाकान्त गौतम, (ख) मा खड्ग बस्नेत, क्षेत्र नम्बर २ (क) मा डिबी कार्की, (ख) मा लिलाबल्लभ अधिकारी, क्षेत्र नम्बर ३ (क) मा किशोर राई, (ख) मा ज्ञानेन्द्र सुवेदी उम्मेदवार बन्नेछन् । 

त्यसै गरी प्रदेशसभामै क्षेत्र नम्बर ४ (क) मा जयप्रकाश चौधरी, क्षेत्र नम्बर ५ (क) मा सन्तोष साह, क्षेत्र नम्बर ६ (क) मा रिता न्यौपाने उम्मेदवार बन्न टुङ्गो लागेको जनाइएको छ । चुनावी तालमेलबाट जसपाले क्षेत्र नम्बर ५ प्रतिनिधिसभामा पाउने निश्चित भएको छ । त्यस्तै प्रदेशसभा तर्फ क्षेत्र नम्बर ४ (ख) र ५ (ख) पाउने टुङ्गो लागेको जसपा केन्द्रीय सदस्य झाले बताए ।
 
उनका अनुसार जसपाले प्रदेशसभामा क्षेत्र नम्बर ४ (ख) मा संजय सिंह र ५ (ख) मा गठबन्धन सरकारका स्वास्थ्यमन्त्री जयराम यादवलाई अघि सार्ने भएको छ । जसपाले मोरङमा प्रदेशसभा तर्फ ३ सिट मागेको छ । तर, दुई सिट भने पाउने टुङ्गो लागिसकेको छ । ‘एमालेसँग हाम्रो गठबन्धन होइन, चुनावी तालमेल हो ।’ जसपा केन्द्रीय सदस्य झाले भने,‘यो जिल्लामा अझै पनि हाम्रो दाबी ३ सिट हो । तर, तलमाथि केन्द्रबाटै हुन सक्छ ।’

उनले एमालेको नेतृत्वमा मात्र नागरिकता सस्य समाधान हुने भएकाले आफ्नो पार्टी चुनावी तालमेलमा गएको दाबी गरे । 





  • प्रकाशित मिति : असोज २१, २०७९ शुक्रबार २१:४९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया