‘हाम्रो वास्तविकता विदेशीलाई कथाझैँ लाग्छ, देशको अवस्था बदल्न भोट दिँदा सोच बदलौँ’

युनाइटेड अरब इमिरेट्स युएई बसाइको क्रममा विगत केही वर्षदेखि मेरो संगत विभिन्न देशका साथीहरूसँग छ । कहिलेकाहीँ फुर्सदमा साथीहरूबीच गफगाफ चल्छ । आफ्नो देशको संस्कृति, भू-बनावटलगायतका बारेमा हामी एक अर्कालाई सुनाउँछौँ ।  

मेरो गाउँघरमा बिजुली, यातायात छैन भनेर ती साथीहरूलाई सुनाउँदा उनीहरू मलाई तलदेखि माथिसम्म हेर्छन् । साहेद उनीहरूलाई लाग्दो हो यो मान्छे झुट बोल्दै छ । या त सोच्दा हुन् कस्तो जंगली युगको मान्छे होला ।

उनीहरूले आफ्नो ठाउँको लोभ लाग्दो विकास र सहजता सुनाइरहँदा मेरो भने मन कटक्क दुख्छ । फेरी सम्झिन्छु स्वाभिमानी नेपाली हुँ। हिमाल, पहाड तराईले बनेको मेरो देश सगरमाथाको देश को नेपाली म । हाम्रो गाउँ घर मा फ्रिज, फ्यान, एसी आवश्यक छैन । किन की प्रकृति को उपहार हो पहाड र हिमाल ।

कलकल बग्ने खोला नाला, धारा पँधेरोमा सहजै जताततै निःशुल्क पानी पिउन पाइन्छ, मान्छेहरू बलिया छन् भारी बोक्न उकाली ओराली गर्न मजबुत छन्, किन चाहियो यातायात ?, रमाइलो छ गाउँले जीवन भनेर मुटु भारी भारी गर्दै भक्कानिएर हाँस्दै जवाफ दिन्छु । ‘​वाउ क्या रमाइलो’ रहेछ भन्छन् उनीहरू ।

बिरामी पर्दा स्ट्रक्चर बोकेर हिँड्न नसकिने बाटोको वास्तविकता उनीहरूलाई सुनाउँदा सायद बनावटी कुनै कथा जस्तै मान्दा हुन् उनीहरू । हामी हेर्न सक्छौँ विश्वका विकसित हिमाली र पहाडी मुलुकहरू, जहाँ वर्षैभरी हिउँ पर्छ, हिमाल र पहाडमै रेल कुदाएका छन्, यत्र-तत्र बिजुली, यातायात, शिक्षा ,स्वास्थ्य जस्ता मानव जनजीवनसँग जोडिएका अति आवश्यक कुराहरु सहजै उपलब्ध छन्। 

इच्छा शक्ति भए भौगोलिक विकटताले विकास निर्माण गर्न रोक्दैन रहेछ । मेरै आँखाले देखेको छु, समुन्द्र माथि र मुनी मानव बस्ती बसेको छन् । हामी सुन्छौँ, एलन मस्कहरुको टिमले लाखौँको सङ्ख्यामा छिट्टै मानव बस्ती मंगल ग्रहमा बसाल्ने गुरु योजना निर्माण गर्दै छन् ।



विदेशको विकास, सेवा सुविधा, प्रविधिलाई नेपालसँग दाँज्न खोजेको त होइन तर हाम्रो ‘​​गतिमती’​ र देशको विकास योजना देख्दा अचम्म भने नलाग्ने होइन । 

म सुदूरपश्चिमको बझाङमा जन्मिए, हुर्किए । मेरो बाल्यकालको समय अर्थात् आज भन्दा झन्डै १७/१८ वर्ष अगाडी म कक्षा सातमा पढ्दै गर्दा निर्माण सुरु भएको दिपायल चैनपुर ग्रामीण सडक  आजसम्म कुन अवस्थामा छ? 



छिमेकी देशहरू तथा हाम्रो भन्दा अति गरिब देशहरू मा पनि यातायात, बिजुली, शिक्षा, स्वास्थ्यबाट वञ्चित हुनु परेको अवस्था सम्भवतः कुनै देश मा नहोला। तर, सम्झिन्छु अढाई घण्टा हिँडेर पाराकाट्ने, झोता, दंगाजी आठ-दश पढ्न हिडेँका बाटा-घाटा, पुल-पोलेसा ! जो वर्षौंपछि आज पनि उस्तै छन् ।

फेरी चुनाव आउँदै छ । गाउँघरमा चुनावी सरगर्मी बढ्ने नै भयो । फेरी विभिन्न आश्वासन जनताले पाउनेछन् । तर सेवा सुविधाको कुनै ठेगान छैन । उसो त सडक, विद्यालय, स्वास्थ्य संस्था बिजुली पुर्‍याइदिने नाममा नागरिकलाई बारम्बार ठगेर-ढाँटेर आफ्नो देशको बिजुली भारत बेच्ने र सुदूर तथा मध्य प्रदेशका बस्तीहरु नेपालको हैनन् ‘गाउँले पाखे’ हरुलाई आवश्यक छैन भन्ने सोच रहेका यो देशका शासकहरु हाम्रो मुख्य शत्रु हुन् । 

यिनीहरूले जनभावना सँग खेलबाड गर्न र चुनावी प्रचार प्रसारमा मुख्य एजेन्डा बनाएर आफू चुनाव जित्ने र चुनाव जितिसके पछि गाउँ नदेख्ने कथित नेताहरूलाई अब ‘बहिस्कार’ गर्न पर्ने दिन आएको छ । खेलौना सम्झेका छन् ग्रामीण मानवलाई नेताहरूले । हुन त यसमा जनताको पनि गल्ती छ । अधिकांश जनता नामका अन्धभक्त समर्थकले गर्दा पटक पटक सत्ता र शक्तिमा रमाउन पुगेका पल्केका तिनै ब्रजस्वाठहरुलाई विकास वादी नेताको तक्मा (ट्याग) लगाएर प्रचार प्रसार सुन्ने बेला आएको छ । अब गाउँ घर मा सबैले सचेत रहेर मतदान गर्न आवश्यक छ ।

एमाले, कांग्रेस, माओवादी लगायत दलहरूका नेताहरु पटक पटक सत्तमा पुगे । तर तिनीहरूले चुनावताका गाउँमा गरेका बाचा अनुरूप कसैले काम गरेनन् या गर्न सकेनन् । हाम्रो भन्दा अति गरिब तथा विपन्न राष्ट्रहरू छोटो समय मा निकै विकसित भएको छन् । हाम्रो राजनीति नेतृत्व र संस्कार दलाल माफियाहरूको कमाई खाने भाँडो बन्न पुग्दाको कारण आज यो स्थिति पुगेको हो भन्दा फरक नपर्ला सायद । यो पटकको चुनावमा मतदाताले अति नै सचेत हुन आवश्यक म देख्छु । 

हाम्रो राजनीति संस्कार, वर्तमान विश्व, प्रविधि, विकास अनि हाम्रो देश हाँक्नेको अवस्था देख्दा कटक्क मन दुख्छ । र, भन्न मन लाग्छ कठै म र हामी नेपाली !

आज पनि लाखौँ युवाले रोजीरोटीको लागि बिदेशिनु परिरहेको छ । गाउँमा इन्टरनेट, टेलिफोनको राम्रो व्यवस्था हुन सकेको छैन । उसो त समस्याका चाङहरू कति छन्, छन् । नेतृत्व गर्ने नेताहरूले पनि ती समस्या नदेखेका होइनन् । तर नेताका लागि भने तिनै समस्या वरिपरि रहेर चुनाव जित्नका लागि आश्वासन दिन मात्रै सजिलो भयो । समस्याको समाधान भएन । 

अझैं पनि समस्या छ, समस्या भयो भनेर समस्याका लागि समस्या देखाइ बस्ने हो भने सधैँ भरी समस्या नै रहनेछ । भ्रस्टाचारको अन्त्य तथा सुशासन कायम गरेर देशलाई अगाडि बढाउनको लागि यस पटक मतदाताले आफ्नो अमूल्य मतदान गर्नु अघि सोच्न आवश्यक छ । 

- लेखक इन्द्र विष्ट विगत ६ वर्षदेखि युएईमा भूमि सर्वेक्षकको रूपमा काम गरिरहेका छन् । 

  • प्रकाशित मिति : असोज २२, २०७९ शनिबार १८:५५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया