logo-img

एमाले मकवानपुरका असन्तुष्ट कार्यकर्ताले लगाए पार्टी कार्यालयमा ताला

मनोनयन दर्ताको दिन आज नेकपा एमाले मकवानपुरको पार्टी कार्यालयमा विवाद सृजना भएको छ ।  मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा रामेश्वर रानाको टिकट खोसेर राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टिकट दिएकोमा एमालेमा असन्तुष्टि सृजना भएको हो । 

एमालेका असन्तुष्ट कार्यकर्ताहरूले पार्टी कार्यालयको ढोकामा ताला लगाएर विरोध गरिरहेका छन् । थापा एमालेको चुनाव चिन्हबाट मंसिर ४ गतेको चुनाव लड्ने भएपछि राप्रपा नेपाल मकवानपुरका नेता कार्यकर्ताहरू खुसी भएका छन् । तर, एमालेका नेता कार्यकर्ताहरूमा असन्तुष्टि छाएको छ । 

केन्द्रीय सदस्य रानाको टिकट खोसिएपछि मकवानपुर एमालेमा असन्तुष्टि देखिएको छ । सामाजिक सञ्जाल मार्फत नेता तथा कार्यकर्ताहरूले आफ्ना असन्तुष्टि पोखिरहेका बेला मनोनयन दर्ताको समयमा पार्टी कार्यालयमा ताला लगाइएको छ । थापालाई भोट हाल्नुको साटो निर्वाचनमै उपस्थित नहुने उनीहरूले बताएका छन् । 



पुराना र निष्ठावान् नेताको टिकट खोसिएको भन्दै असन्तुष्टि व्यक्त गरिएको हो । स्थानीय तहको चुनावमा कमल थापा लगायत राप्रपा नेपाल पार्टीका नेता कार्यकर्ताहरूले असहयोग गरेको एमालेका कार्यकर्ताहरू बताउँछन् । शाही शासनका अन्तिम गृहमन्त्री कमल थापा एमालेको चुनाव चिह्न सूर्यसहित मकवानपुरबाट उम्मेदवार बन्ने भएका हुन् । 

एमालेले यो क्षेत्रबाट जिल्ला इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य रामेश्वर रानालाई उम्मेदवार तोकेको थियो । त्यसो त मनोनयन दर्ताको समयमा आक्रोशित हुनु भन्दा सल्लाह गरेर अघि बढ्नुको विकल्प नरहेको एमालेका जिल्ला नेताहरू बताउँछन् । यद्यपि यी विषयमा छलफल भइरहेको बताइएको छ । 





  • प्रकाशित मिति : असोज २३, २०७९ आइतबार १२:५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया