आजसम्म बागी फिर्ता लिएकालाई माओवादीले कारबाही नगर्ने

माओवादी केन्द्रले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेलाई सोमबारसम्म उम्मेदवारी फिर्ता लिए कारबाही नगर्ने भएको छ । 

माओवादी केन्द्रीय कार्यालयले सोमबार विज्ञप्ति जारी गर्दै आज (सोमबार)सम्म उम्मेदवारी फिर्ता लिएर निष्क्रिय बसेको घोषणा गरे अनुशासनको कारबाही नहुने जनाएको हो ।

माओवादी पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जारी गरेको विज्ञप्तिमा निर्वाचन आयोगले तोकेको मितिभित्र उम्मेदवारी फिर्ता नलिने बागी, तिनका प्रस्तावक र समर्थकलाई कारबाही गरिसकिएको र अझै प्रदेश र प्रतिनिधिसभाका बागी र स्वतन्त्र उम्मेदवारी दिनेले सोमबारसम्म पार्टी वा गठबन्धनका आधिकारिक उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धतासहित घोषणा गरे अनुशासनको कारबाही नहुने जनाइएको छ ।

यसअघि गठबन्धनकै प्रमुख घटक नेपाली कांग्रेसले पनि सोमबारसम्म बागी र स्वतन्त्र उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिए वा निष्क्रिय बसे कारबाही नहुने जनाइसकेको छ । 

खासगरी, काठमाडौं १०, सर्लाही ४, सल्यानलगायत जिल्लामा कांग्रेस र माओवादीका बागी उम्मेदवार दलका लागि टाउको दुखाइको विषय बनेको छ ।





  • प्रकाशित मिति : असोज ३१, २०७९ साेमबार १७:४९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया