सर्लाहीमा लुटेरा समूहले चलायो एक व्यक्तिमाथि गोली

सर्लाहीमा लुटेरा समूहले दिनदहाडै एक व्यक्तिमाथि गोली प्रहार गरेको छ । जिल्लाको बागमती नगरपालिका–१ मिलनचोकस्थित सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनको सेवा केन्द्रका प्रमुख साजन कार्कीमाथि लुटेरा समूहले गोली प्रहार गरेको हो ।

लुटेरा समूहले प्रमुख कार्कीमाथि ४ राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ । बुधबार बिहान साढे १० बजे ३ जनाको समूहमा आएका लुटेराले सेवा केन्द्रको कार्यालयभित्र पसेर प्रमुख कार्कीलाई पैसा दिन भन्दै धम्क्याएपछि कार्कीले प्रतिकार गरेका थिए । 

प्रतिकार गर्नेबित्तिकै लुटेरा समूहले आफूमाथि ४ राउण्ड गोली प्रहार गरेको घाइते कार्कीले बताए । गोली प्रहार गरेपछि ३ जना भारतीय नम्बर प्लेटको एउटै मोटरसाइकलमा चढेर दक्षिणतर्फ भागेका छन् । लुटेरा समूहले रकम लुटेर लगे कि लगेनन् भन्ने कुरा एकिन भइनसकेको सगुनका अध्यक्ष केशव ढकालले जानकारी दिए ।

तिघ्रा, कुम, ढाड र कोखामा गोली लागेका घाइते कार्कीको हरिवनस्थित सरस्वती अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि एम्बुलेन्समार्फत काठमाडौं पठाइएको छ । 

लालबन्दी–२ जुटपानी निवासी कार्कीलाई ४ गोली लागेपनि शरिरको संवेदनशिल भागमा नपरेकाले धेरै खतरा नदेखिएको र उनी बोलिरहेको सरस्वती अस्पतालका सञ्चालक डा. राजिव साहले जानकारी दिए । 





  • प्रकाशित मिति : कात्तिक २, २०७९ बुधबार १३:५९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया