logo-img

‘युवा क्लबहरुले पोखरी घाटहरुलाई कमाइ खाने भाँडो बनाए’

मिथिलाञ्चलको महापर्व छठ जनकपुरधाममा प्रत्येक वर्ष धुमधामका साथ मनाइन्छ । छठमा नगरभित्रका प्रायः सबै पोखरी तथा तलाउहरु भरिभराउ हुन्छन् । ती पोखरी तथा तलाउलाई यहाँका स्थानीय युवा क्लबहरुले दुलहीझैँ सिँगारेका छन् । तर, युवा क्लबहरुले पोखरी घाटहरुलाई भने पैसा कमाउने भाँडो बनाएको आरोपसमेत लाग्ने गरेको छ । 

छठको घाटमा गरिएको सरसजावटबापत यहाँका युवा क्लबहरुले लाखौँ रुपैयाँसम्म मनोमानी तरिकाले असुली गरिरहेको आरोप लाग्ने गरेको छ ।

जनकपुरधामको प्रसिद्ध पोखरी गंगासागरमा मात्र ८५० भन्दा बढी घाट छन् । सो पोखरीमा स्थानीय गंगासागर छठ पूजा व्यवस्थापन समिति, बजरंग युवा क्लब, जनक युवा क्लबहरुले व्यवस्थापन गर्दै आइरहेका छन् । 

गंगासागर छठ पूजा व्यवस्थापन समितिले यस वर्ष प्रतिघाट ५५० रुपैयाँ शुल्क तोकेको समितिका अध्यक्षसमेत रहेका तमलोपाका नेता सतीशलाल दासले जानकारी दिए । 

श्रद्धालुले स्वेच्छाले दिने शुल्क मात्रै उठाउने गरेको अर्थ समितिका संयोजकसमेत रहेका लोसपाका नेता रमण सिंहले बताए ।

यता, स्थानीय श्रद्धालुले भने पूजा व्यवस्थापन समितिले चर्को शुल्क उठाए पनि व्यवस्थापनको नाममा भने केही नगरेको आरोप लगाउने गरेका छन् । 



त्यस्तै, अरगज्जा पोखरीमा करिब १ हजार १ सय घाट छन् भने धनुषसागर पोखरीमा २ हजारभन्दा बढी घाट छन् । धनुष सागर पोखरीको छठ पूजाको व्यवस्थापन गणेश युवा कमिटी र श्रीराम युवा कमिटीले गर्दै आएको छ ।

गणेश युवा कमिटीले प्रतिघाट २५१ रुपैयाँ शुल्क उठाउँदै आएको छ । छठ पर्वको व्यवस्थापनमा तिनीहरुले पण्डाल, लाइट तथा साउण्डमा मात्र खर्च गर्छन तर छठको घाटबाट उठ्ने शुल्कबाट हुने आम्दानीलाई युवा क्लबले के गर्छन् भन्नेबारे कुनै लेखाजोखा हुँदैन ।



 

 

 

  • प्रकाशित मिति : कात्तिक १२, २०७९ शनिबार १८:३८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया