व्यवस्था परिवर्तन भए पनि अवस्था जस्ताको त्यस्तै : प्रभु साह

रौतहट क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार प्रभु साहले देशमा व्यवस्था परिवर्तन भए पनि अवस्था जस्ताको त्यस्तै रहेको बताएका छन् । 

सोमबार जनकपुरधाममा आयोजित ‘स्वतन्त्र उम्मेदवार जिताउ अभियान बृहत् कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै साहले स्वतन्त्रहरुको उम्मेदवारी दलीय सिण्डिकेटविरुद्ध परिवर्तनका लागि रहेको बताएका छन् । 

उनले भने, ‘मलाई त दुवै गठबन्धनले बोलाइरहेको छ । तर पनि म गइनँ ।  त्यसको एउटै कारण जनतालाई दलीय सिण्डिकेटबाट मुक्ति दिनु हो ।’

उनले देशका लागि दलको रिमोटबाट चल्ने संसदभन्दा जनताका लागि केही गर्न सक्ने संसद आवश्यक रहेको र त्यस्तो परिवर्तन स्वतन्त्रहरुबाट मात्र हुन सक्ने दाबीसमेत गरेका छन् । 

उनले स्वतन्त्रहरुको उम्मेदवारी चुनाव जित्नका लागि मात्र नभई दलीय सिण्डिकेटले निर्मित अपवित्र गठबन्धनविरुद्धसमेत रहेको जिकिर गरे । 

पूर्वमन्त्रीसमेत रहेका साहले आफू देशको राजनीतिक समस्या समाधान गर्न स्वतन्त्र उम्मेदवारी दिएको बताए । 



कार्यक्रममा स्वतन्त्र अभियानका सहयोगी बद्री न्यौपानेले सत्ता र पदलाई  कायम राख्नका लागि ठूला दलले अपवित्र गठबन्धन गरेको आरोप लगाए । 

स्वतन्त्र उम्मेदवार श्रीलाल महासेठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनुषा–३ का प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार उमेश साह, महोत्तरी ३ (क) प्रदेशसभाका स्वतन्त्र उम्मेदवार सुनिल रोहित लगायतले देशमा परिवर्तनका निम्ति स्वतन्त्र उम्मेदवारलाई जिताउन आग्रह गरेका थिए ।



  • प्रकाशित मिति : कात्तिक १४, २०७९ साेमबार १९:२५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया