सर्लाही–२ का उम्मेदवार यादवविरुद्ध मलंगवामा विरोध प्रदर्शन

सर्लाही क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महिन्द्र राय यादवविरुद्ध मलंगवामा विरोध प्रदर्शन गरिएको छ ।

सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका नेपाल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष यादवको चुनाव प्रचारप्रसार गाडीको ठक्करबाट जिल्लाको ब्रम्ह्पुरीमा एक युवकको मृत्यु भएपछि पीडित पक्षले विरोध प्रदर्शन गरेका हुन् ।

यादवको चुनाव प्रचारप्रसारमा रहेको बीआर ३० पी ९०८२ नम्बरको भारतीय गाडीले पूर्व–पश्चिम हुलाकी सडकको सखुअवा र भेल्हीको बीचमा ज १० प १३०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भारत सीतामढीका २२ वर्षीय नेक महम्मदको आइतवार मृत्यु भएको थियो ।

घटनापश्चात पीडित पक्षले दोषी माथि कारवाही र उचित क्षतिपूर्तिको माग गर्दै बुधबार सदरमुकाम मलंगवाको शहीद चोकमा यादवविरुद्ध नाराबाजी गर्दै टायर बालेर घण्टौ विरोध प्रदर्शन गरेका छन् ।

पीडित पक्षले दोषीलाई कारवाही र उचित क्षतिपूर्ति नदिएसम्म शव नबुझने अडान लिएकोले मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामै राखिएको छ । सो दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलको पछाडि सवार मलंगवा नगरपालिका–९ का १२ वर्षीय असलम सफीको भने प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।

यसैबीच प्रहरीले घटनाकै दिन ब्रम्ह्पुरी गाउँपालिका–३ बाट राति ११ बजे सो गाडी नियन्त्रणमा लिएपनि चालक अझै फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रबक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।





  • प्रकाशित मिति : कात्तिक १५, २०७९ मंगलबार १९:३५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया