नेपाललाई सहायता प्रदान गर्ने मुलुकको सूचीमा पुनः आबद्ध गर्ने जर्मनीकाे घोषणा

जर्मनीले नेपाललाई पुनःद्विपक्षीय सहायता प्रदान गर्ने मुलुकको सूचीमा आबद्ध गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्मा र नेपाल भ्रमणमा रहेको जर्मनीका आर्थिक सहयोग र विकास मन्त्रालयका संसदीय राज्यमन्त्री वारवेल कोफलरले साे घोषणा गरेका हुन् । 

वारवेलनेतृत्वमा रहेको टोलीले अर्थमन्त्री शर्मासँगकाे भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र सहयोगका विविध क्षेत्रबारे गहन छलफल गरेकाे थियाे । अर्थ मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबीच जर्मनी र नेपालका प्राथमिकताका क्षेत्र तथा सहयोगलाई निरन्तरताका विषयमा केन्द्रित रही विचार विमर्श भएकाे छ । 

जर्मनी नेपालको सामाजिक रुपान्तरण र आर्थिक विकासको प्रमुख साझेदार मुलुक हो । सो अवसरमा अर्थमन्त्री शर्माले नेपालको आर्थिक विकास र लोकतान्त्रिक प्रक्रियामा मित्र राष्ट्र जर्मनीबाट निरन्तर साथ र सहयोग प्राप्त भइरहेकामा धन्यवाद ज्ञापन गर्दै कोभिड–१९ सङ्क्रमण रोकथाममा पनि भएको सहयोगप्रति आभार व्यक्त गरे । 

जर्मनीले नेपाललाई लामो समयदेखि दिगो आर्थिक विकास, ऊर्जा र स्वास्थ्यका क्षेत्रमा प्रभावकारी सहयोग उपलब्ध गराउँदै आएको छ । नेपालले जर्मनीसँग पूर्वाधार निर्माण, कृषि र उद्योगका क्षेत्रमा पनि सहयोगको अपेक्षा गर्दै आएको छ ।

भेटपछि मन्त्रालयका वैदेशिक सहायता महाशाखाका प्रमुख एवं सहसचिव ईश्वरी अर्यालले दुई देशका प्राथमिकताका क्षेत्रका अतिरिक्त नवीकरणीय ऊर्जा, स्वास्थ्यलगायतका क्षेत्रमा सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको बताए । 

जर्मनीले विभिन्न गैरसरकारी संस्थामार्फत् पनि नेपाललाई सहयोग पुर्याउँदै आएको छ । भेटका अवसरमा नेपालका लागि जर्मनका राजदूत डा. थोमस प्रिन्जलगायत सहभागी थिए ।





  • प्रकाशित मिति : कात्तिक १६, २०७९ बुधबार १८:४२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया