logo-img

धादिङ २ मा लोहनी र अधिकारी आमनेसामने, कसलाई छ चुनाव जित्न सहज?

मंसिर ४ मा हुने प्रदेशसभा तथा प्रतिनिधि सभा निर्वाचनले धादिङ क्षेत्र नं २ मा सरगर्मी बढेको छ । निर्वाचनको मिति नजिकिएसँगै प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्याशी उम्मेदवार चुनावी घोषणापत्र बोकेर मतदाताको घरघर पुगिरहेका छन् ।

धादिङ–२ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी र नेकपा एमालेबाट खेम लोहनीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेसका अधिकारीलाई नेकपा एकीकृत समाजवादी तथा नेपाल समाजवादी पार्टीको साथ रहेको छ । एमालेका उम्मेदवार लोहनीलाई भने राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ छ ।

यस निर्वाचन क्षेत्रमा अन्य उम्मेदवारसँग पनि प्रतिस्पर्धा हुने भएता पनि मुख्य प्रतिस्पर्धा भने कांग्रेस र एमालेकै उम्मेदवारबीच हुने स्पष्ट छ । कांग्रेसका अधिकारी र एमालेका लोहनी मध्ये धादिङ २ मा कसको पल्ला भारी होला भन्ने विषयले चर्चा बटुलिरहेको छ । 

सङ्घीयतापछिको पहिलो संसदीय निर्वाचनमा यस क्षेत्रबाट एमालेका नेता खेमप्रसाद लोहनी विजयी भएका थिए । कांग्रेसका नेता दिलमान पाख्रिनलाई ६४० मतले पराजित गर्दै लोहनी विजयी भएका थिए । लोहनीलाई तत्कालीन अवस्थामा नेकपा माओवादी केन्द्रको साथ थियो ।

यस पटक पनि उम्मेदवारी दिएका सबै व्यक्ति र दलले आफूले नै विजय हासिल गर्ने बताइरहँदा गठबन्धनको तर्फबाट कांग्रेस र राप्रपासँग तालमेलमा रहेको एमालेका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । क्षेत्र नं. २ मा नीलकण्ठ नगरपालिकासहित ज्वालामुखी, त्रिपुरासुन्दरी, गङ्गाजमुना, नेत्रावती डबजोङ, खनियाबास र रुविभ्याली गाउँपालिका पर्दछ । 

सो क्षेत्रमा एक लाख ३६ हजार सात सय ४२ मतदाता छन् । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षले पाएको मतका आधारमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा कसको पल्ला भारी होला भन्ने कुरा मतगणनाको आधारलाई हेरेर मुल्यांकन गर्न सकिन्छ । 



स्थानीय तहको निर्वाचनलाई आधार मान्दा  यस्तो छ धादिङ–२ को अङ्कगणित

धादिङमा रहेका कूल एक सय चार वडामध्ये ५१ वडा रहेको सङ्घीय क्षेत्र नं २ मा गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अधिकांश वडामा राजनीतिक दल एक्ला एक्लै प्रतिस्पर्धा गरेका थिए । एमालेले ५१ वटै वडा, कांग्रेसले ४३ वडामा र माओवादी केन्द्रले ३४ वडामा आफ्नो उम्मेदवार उठाएको थियो ।



त्यस्तै एकीकृत समाजवादी पार्टीले २४ वडा, राप्रपाले ४६ वडा र जनता समाजवादी पार्टीले १३ वडामा आफ्नो उम्मेदवार उठाएको थियो । तीमध्ये कांग्रेस २२ वडामा विजयी हुँदा माओवादी केन्द्र १० वडामा विजयी भएको थियो भने एमालेले आठ वटा वडामा विजय हासिल गरेको थियो ।

राप्रपाबाट ४, स्वतन्त्रबाट ३, जनता समाजवादीबाट १ र एकीकृत समाजवादीबाट ३ जना उम्मेदवार वडामा विजयी भएका छन् । जितेका र हारेका सबै वडा अध्यक्षले पाएको मत जोड्दा यस निर्वाचन क्षेत्रमा कांग्रेस २९ हजार ९ सय ६५ मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ । त्यस्तै एमालेले २५ हजार नौ सय ३८ मत पाउँदा माओवादीले १४ हजार तीन सय ८० मत पाएको थियो ।

त्यस्तै राप्रपाले ५हजार २ सय ८७ मत र नेकपा एकीकृत समाजवादीले ३ हजार ४ सय ५६ मत पाएका छन् । त्यस्तै स्वतन्त्र लगायत अन्य साना दलले ४ हजार ९ सय ४४ मत पाएका छन् । स्वतन्त्रबाट विजयी भएका तीन वटै वडामा नेपाली कांग्रेसकै बागी उम्मेदवार रहेकाले स्वतन्त्र उम्मेदवारले पाएको आधा जसो मत नेपाली कांग्रेसकै मत हुनसक्छ ।

सत्ता गठबन्धनमा रहेका दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका वडाध्यक्षले पाएको मत जोड्दा ४७ हजार ८ सय १ हुन आउँछ । त्यस्तै एमाले र राप्रपाका वडाध्यक्षले पाएको मत जोड्दा ३१ हजार दुई सय २५ मत हुन आउँछ ।

नेपाल समाजवादी पार्टीको पनि सत्ता गठबन्धनलाई नै साथ रहेकाले तत्कालीन जसपा र हाल नेसपाले पाएको भोट एक हजार ६० समेत जोड्दा जिल्लामा सत्ता गठबन्धनका उम्मेदवार अधिकारी १७ हजार छ सय ३६ मतले अगाडि देखिएका छन् । विभिन्न आकलनकाबीच अबको जित-हार भने निर्वाचनले नै टुंगो लगाउने छ । 

  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार १६:१८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया