नेपाली कांग्रेसकाे कारबाहीमा पक्षपात : ७४ जना कारबाहीमा पर्दा देउवा पक्षका दुईजना जाेगाइए

नेपाली कांग्रेसले मंगलबार पार्टी र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने ७४ जना नेता तथा कार्यकर्तालाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गर्याे । पार्टीको अनुशासन आयोगले विज्ञप्ति जारी गर्दै यस्ता ७४ नेतालाई कारबाही गर्दा राैतहटका दुईजना वागी उम्मेदवारलाई भने कारबाही गरेन । 

'आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि देहायका व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ,'आयोगका संयोजक आनन्दप्रसाद ढुंगानाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले बागी उम्मेदवार तीनका प्रस्तावक एवं समर्थकको नाम केन्द्रीय अनुशासन समितिमा पठाउन पनि निर्देशन दिएको छ ।

कांग्रेसको अनुशासन समितिले अन्य जिल्लाका बागी उम्मेदवारलाई कारबाही गरे पनि रौतहट ३मा शाहविरुद्ध उम्मेदवारी दिएका दुईजना बागी उम्मेदवारलाई भने जाेगाएकाे हाे । रौतहट क्षेत्र नं३ मा पाँचदलीय गठबन्धनले एमालेबाट विद्राेह गरेका प्रभु शाहलाई समर्थन गरेकाे छ ।

रौतहट क्षेत्र नं–३ मा कांग्रेसका जैसवालले प्रभु शाहविरुद्ध उम्मेदवारी दिएका छन् । गठबन्धनले सुरूमा माओवादी केन्द्रका धिरज पटेललाई उम्मेदवार बनाए पनि उनले उम्मेदवारी फिर्ता लिन नमानेपछि उनी पार्टीकाे कारबाहीमा परिसकेका छन् । 

रौतहट क्षेत्र नं–४ मा अजयकुमार साहले नेपाली कांग्रेसकै गठबन्धनका उम्मेदवार देवप्रसाद तिमल्सिनाविरुद्ध उम्मेदवारी दर्ता गराएका छन्।



कांग्रेस रौतहटले यी दुई बागी उम्मेदवारको नाम केन्द्रमा पठाए  पनि उनीहरूलाई कारबाही नभएपछि विभिन्न टीकाटिप्पणी सुरू भएकाे छ । राैतहटका दुई बागी उम्मेदवार कांग्रेसकाे संस्थापन पक्ष (देउवा गुट)का भएका कारण उनीहरूलाई जाेगाइएकाे इतरपक्षकाे आराेप छ । 

उनीहरुलाई कारबाही नभएकाे विषयमा नेपाली कांग्रेस मधेस प्रदेशले आफूहरुले बागी उम्मेदवारहरूको नाम केन्द्रमा पठाएकाे तर केन्द्रले कारबाही नगरेकाे विषयमा अनभिज्ञता प्रकट गरेकाे छ । बागी उम्मेदवारी दिएका जैसवाल र साह शेरबहादुर देउवा गुटका हुन्।



  • प्रकाशित मिति : कात्तिक २३, २०७९ बुधबार १७:२२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया