हाम्रो लडाइँ ओलीलाई हराउने हो, मकवानपुर-२ मा मेरो जित पक्का : विरोध खतिवडा [अन्तर्वार्ता]

मंसिर ४ मा हुने संघ र प्रदेश सभा निर्वाचन मिति नजिकिएसँगै मकवानपुरमा पनि चुनावी सरगर्मी बढिरहेको छ । दुईवटा प्रतिनिधि सभा क्षेत्र रहेको मकवानपुरमा प्रतिनिधिसभा निर्वाचनमा पेचिलो प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा १० जनाको उम्मेदवारी दर्ता भएकोमा मुख्य प्रतिस्पर्धा भने हेभिवेट नेताहरूबीच हुने देखिन्छ । यसपटक निर्वाचन क्षेत्र नम्बर २ मा पहिले एउटै पार्टीमा रहँदा हरेक गतिविधिमा साझेदारी गरेका, चारपटक सांसद एवं एकपटक मन्त्री भइसकेका विरोध खतिवडा र नेकपा एमाले युवा नेता महेश बर्तौलाबीच भिडन्त हुँदैछ । 

विद्यार्थी कालमा कम्युनिष्ट राजनीतिबारे प्रशिक्षण दिने खतिवडा र प्रशिक्षण लिने बर्तौलाको भिडन्त रोचक हुने अनुमान गरिएको छ । गठबन्धनबाट यो क्षेत्र एकीकृत समाजवादीको भागमा परेपछि खतिवडा उम्मेदवार बनेका हुन् । २०४८ पछिका चारवटा निर्वाचनमा जितेर सांसद भइसकेका खतिवडाको यो पाँचौँ चुनावी प्रतिस्पर्धा हो । प्रस्तुत छ तिनै खतिवडासँग निर्वाचन केन्द्रित रहेर फरकधारकर्मी सुनिता विष्टले गरेको कुराकानीको अंश :

निर्वाचनको मिति नजिकिएसँगै तयारी कसरी गरिरहनु भएको छ?

अहिले हामी सबै मतदाताको घरघरमा पुग्ने काम गरिरहेका छौँ । वडा, गाउँ, विभिन्न स्थानहरूमा संयुक्त भेला यो ढंगबाट हामी बढीभन्दा बढी मतदाताहरूसामु पुग्ने गरी प्रचारप्रसारमा जुटिरहेका छौँ । अहिलेको चुनाव अरू चुनावभन्दा फरक छ भन्ने बुझाइरहेका छौँ । अहिले संविधान रक्षा गर्ने कि नगर्ने? त्यसलाई रक्षा गर्नका लागि हामी लाग्ने कि नलाग्ने? गठबन्धनको आवश्यकता किन पर्‍यो? लगायतका कुराहरू मतदाताहरूलाई बुझाउनको लागि लागिपरेका छौँ । गएको सरकारले दुई/दुईवटा संसद भंग गर्‍यो । त्यसले तपाईँहरूको मत र संविधानको उल्लंघन भयो भन्ने कुराहरू बुझाउने तयारीको साथमा घरदैलो अभियानमा जुटिरहेका छौँ । 

के–के एजेन्डाका साथ घरदैलो गरिरहनुभएको छ?  

प्रमुख एजेन्डा राजनीतिक एजेन्डाहरू छन् । जुन अघिल्लो पटक एमाले–माओवादीको गठबन्धनले पाएको बहुमत केपी ओलीले ठीक ढंगले लान सकेनन् । यही एजेण्डाहरूलाई हामीले लगिरहेका छौँ । विकास निर्माणका एजेण्डाहरूलाई निरन्तरता छदैछ । चित्लाङमा मदनभण्डारी प्राविधिक विश्व विद्यालय निर्माणाधीन अवस्थामा छ । त्यसका लागि २ सय करोड खर्च भइसकेको छ । म त्यसलाई निरन्तरता दिँदै टुंग्याउने छु । यो सबै कुराहरूलाई समग्रमा राखेर विकास निर्माणका कामहरूमा म लाग्ने छु । मेरो एजेन्डा भनेको जनतासँग जोडिएको समस्याहरूको सावधानको लागि हो । 



मकवानपुर–२ मा तपाईँसँग तपाईँले नै राजनीति सिकाउनुभएका  महेश बर्तौला प्रतिस्पर्धामा हुनुहुन्छ, उहाँको उम्मेदवारीले तपाईँलाई जित्न कति सहज छ?

यत्रो पञ्चायत, राजाविरुद्ध आन्दोलन गरेकै अध्यावधिको लागि हो । पाँच/पाँच वर्षमा जनताले हामीलाई चुन्नुपर्छ । आ–आफ्नो दलका विद्धानहरू चुनाव लड्न पाउनुपर्छ । स्वतन्त्र र फरक व्यक्तित्वहरूले पनि आफ्नो क्षमता प्रदर्शन गर्न पाउनुपर्छ भनेर हाम्रो मागभित्र नै पर्ने भएकोले चुनाव महेश बर्तौलासहित मसँग अरू ९ जना पनि प्रतिस्पर्धामा हुनुहुन्छ । मसहित १० जना छौँ । त्यसैले मैले सबैलाई स्वागतयोग्य ठानेको छु । उहाँको उम्मेदवारीलाई मैले कुनै अनौठो मानेको छैन । 



यसअघिका निर्वाचनमा एमालेबाट विजयी हुनु भएको थियो । आसन्न निर्वाचनमा एकीकृत समाजवादीबाट चुनावी मैदानमा हुनुहुन्छ । निर्वाचनमा पार्टी परिवर्तनले असर गर्ला जस्तो लाग्दैन? 

यो पार्टी निर्माण गरेको पनि मैले नै हो । २०३५/०३६ सालदेखि निरन्तर तत्कालीन मालेसँग जोडिएर निरन्तर कम्युनिष्ट आन्दोलनमा नेतृत्व गर्दै आएको हो । त्यस्तो कुनै आन्दोलन छैन जहाँ मैले नेतृत्व नगरेको होस् । चाहे त्यो २६ सालको होस् । ४६ को होस्, ६५ को होस् । त्यसले गर्दा पनि जनताहरू एमालेप्रति आकर्षित थिए । मेरो नेतृत्वप्रति विश्वास गरेका थिए । एमाले ठूलो पार्टी बनिरहेको थियो । हामीले जिती पनि रहेका थियौँ । खास घटना क्रममा म दासत्व स्वीकार गर्न सकिँन । बा प्रवृत्तिलाई मैले अंगीकार गर्न सकिँन । त्यसले गर्दा हामी अलग पार्टी बन्न पुग्यौँ ।

म यता आएपछि एमालेमा रानो हराएको मौरी जस्तो भएको छ । पार्टीको विधि पद्धतिलाई विश्वास गरेर आउने पंक्ति एकप्रकारको छ भने त्यसको नेतृत्वलाई विश्वास गरेर आउनेको जमात पनि बेग्लै हुन्छ । त्यो विश्वास मप्रति थियो । म यता आएपछि विरोध किन गयो उतापट्टी भनेर मलाई नै विश्वास गरेर साथ दिनेहरू एमालेका मतदाता पनि मेरो साथमा छन् । र, गठबन्धन पनि मेरै साथमा छ । त्यसलाई आधार मान्दा पनि पार्टी परिवर्तनले मलाई कुनै असर गर्नेवाला छैन । जित हुन्छ भन्नेमा विश्वस्त छु । 

गठबन्धनको भरमा चुनाव लड्दै हुनुहुन्छ, तपाईँलाई मतदाताले पत्याउलान्? आधार के छन्?  

त्यस्तो होइन । सबै कुराहरू विश्वासमा चल्ने हो । स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीभित्र त अन्तर्घात भयो भनेर ठूला दलहरूले छलफल, बैठक गरेको देखि हाल्नुभयो । त्यसमा यो गठबन्धन भनेपछि एक/दुई जनामा सन्तुष्टि देखिनु स्वाभाविक नै हो । निरन्तर एउटै पार्टीमा बस्दा त यो देखिन्छ भने गठबन्धनमा त्यो हुन्न भन्ने कुरा छैन । हामीले साझा एजेन्डा लिएर गएका छौँ । त्यसमा गठबन्धन सबैको सहमति छ । हाम्रो लडाइँ भनेको केपी ओलीलाई हराउने हो । त्यसैले पनि मतदाता स्पष्ट छन् । जहाँका मतदाता अलि अस्पष्ट छन्, उनीहरूलाई त्यहाँकै स्थानीय नेतृत्वले हेरिरहेका छन् ।  

मकवानपुर–२ मा तपाईँले नै जित्नुपर्ने किन? 

प्रत्येक पटक जनताले मलाई अनुमोदन गरेका छन् । मलाई पत्याएका छन् । अहिले पनि मैले त्यस्तो नराम्रो काम केही गरेको छैन, राम्रा कामहरू गरिरहेको छु । मकवानपुरमा विकासको मूल फुटाइरहेको मान्छे हुँ । यसअघि गरेका कामहरूलाई आधार मानेर र बाँकी योजनालाई पूरा गर्नको लागि पनि फेरि एकपटक मलाई मत दिएर जिताउनुहुनेछ भन्ने लाग्छ । हामी नयाँ पार्टी हौँ । हाम्रो जनमत कम नै छ । त्यसैले पार्टी ठूलो बनाउनको लागि केही समय लाग्न सक्छ । मकवानपुरमा विकासको लागि र राजनीति बुझेर ४ पटक निर्वाचित भइसकेको कारण पनि मैले जित्नुपर्छ भन्ने मलाई लाग्छ । 

  • प्रकाशित मिति : कात्तिक २७, २०७९ आइतबार ९:५१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया