विष्णु पाैडेललाई शंकर पाेखरेलकाे काउन्टर : लुम्बिनी प्रदेशको राजधानी दाङबाट अन्त सर्दैन

लुम्बिनी प्रदेशको राजधानीकाे विषयमा नेकपा एमालेका दुई वरिष्ठ नेताबीच दाेहाेरी सुरु भएकाे छ । यसअघि नै लुम्बिनीकाे प्रदेशसभाले साे प्रदेशकाे स्थायी राजधानी बुटवलबाट दाङ सार्ने निर्णय गरिसकेकाे छ । 

तर, एमालेका उपाध्यक्ष विष्णु पौडेलले केही दिनअघि एक टेलिभिजन कार्यक्रममा बाेल्दै प्रदेशको राजधानी दाङबाट बुटवल नै ल्याउने बताएका थिए । पाैडेलकाे साे भनाइलाई काउन्टर दिँदै  एमाले महासचिव शंकर पोखरेलले लुम्बिनी प्रदेशको राजधानी दाङबाट अन्त नसर्ने बताएका छन् ।

आइतबार दाङमा भएको एक चुनावी कार्यक्रममा बाेल्दै महासचिव पोखरेलले संविधानले राजधानी दुईपटक सार्ने विषय उल्लेख नगरेकाले दाङबाट राजधानी अन्त नसर्ने दाबी गरे । 

आफूहरुले आन्दोलन गरेर दाङमा प्रदेश राजधानी ल्याउन सफल भइसकेकाले अब कसले के बोल्छ भनेर चिन्ता लिननपर्ने पाेखरेलकाे भनाइ छ । 'कांग्रेस र माओवादीको सरकार भएको बेला उनीहरूले बुटवल तोकेका थिए, म मुख्यमन्त्री भएपछि दाङमा सारेका छौँ,'  पाेखरेलले भने, 'राजधानी दाङमा तोक्ने काम भइसक्यो । कार्यालयहरू सार्ने काममा ढिला भएको हाे, अब सार्ने काम पनि चाँडै सकिन्छ ।’

कहाँ कसले के बोल्छ भन्ने विषयमा सरोकार नराख्न भन्दै महासचिव पाेखरेलले दाङमा कायम भएको राजधानीलाई व्यवस्थित सहर बनाउने योजना भएकाले एमाले पार्टीलाई मतदान गरेर विजयी गराउन उनले मतदातासँग आग्रह पनि गरे । 

सुरुमा प्रदेशकाे अस्थायी राजधानी बुटवल ताेकिए पनि शंकर पोखरेल मुख्यमन्त्री भएका बेला उनैकाे जाेडबलमा स्थायी राजधानी दाङ सार्ने निर्णाय भइसकेकाे छ । बुटवललाई नै स्थायी राजधानी बनाउनका लागि पाैडेलले भूमिका नखेलेकाे भन्दै त्यहाँका बासिन्दा पाैडेलसँग रूष्ट छन् । 



उपाध्यक्ष पाैडेल अहिले एमालेका तर्फबाट रूपन्देही २ मा प्रतिनिधसभाका उम्मेदवार छन् । साे क्षेत्रका जनताकाे मागलाई सम्बाेधन गर्न पाैडेलले राजधानी फेरि बुटवल नै सार्ने बताए पनि उनकाे साे भनाइ भाेट झार्ने राजनीतिक फण्डा मात्रै भएकाे विश्लेषकहरु बताउँछन् ।   



  • प्रकाशित मिति : कात्तिक २७, २०७९ आइतबार १६:५९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया