बझाङमा शिक्षकमाथि एसिड आक्रमण, विप्लव नेतृत्वले लियाे जिम्मेवारी

बझाङकाे छविस पाथिभेरा गाउँपालिका वडा नं. ७ मा रहेको मजखोरी माविमा अध्यापन गराउँदै आएका एक शिक्षकमाथि केही व्यक्तिहरुले अभद्र व्यवहार गरेका छन् । 

आइतबार विद्यालयकाे कक्षा १० मा पढाइरहेको अवस्थामा कक्षा कोठाबाट बाहिर बोलाएर ७–८ जनाको समूहमा आएका व्यक्तिहरुले आफूमाथि एसिड आक्रमण गरी कालोमोसो दलेको शिक्षक जनक बोहराले बताए । 

केही दिनअघि विद्यालयको हातामा केही व्यक्तिले निर्वाचनलाई खारेज गरौँ भन्दै नारा लेख्दै गरेकाे र ती व्यक्तिहरुलाई आफूले विद्यालयमा उक्त नारा नलेख्न भनेको बताउँदै उनले सोही विषयलाई कारण बनाएर आफूमाथि आक्रमण भएको बताए । 

आफूमाथि आक्रमण गर्ने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रहेकोसमेत शिक्षक बोहराले बताए ।
 
यसैबीच आज विद्यालयले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको घोर भत्र्सना गर्दै उक्त कार्यमा संलग्न सबैलाई कारबाहीको माग गर्दै अनिश्चितकालका लागि विद्यालयको पढाइसमेत रोकेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘विद्यालयको अनुमतिविना विद्यालयमा प्रवेश गरी पढाइरहेका शिक्षकमाथि एसिड, मोबिल आक्रमण र कुटपिट गरेकोले उक्त कार्यप्रति विद्यालय घोर आपत्ति जनाउँदछाैँ । साथै सो कार्यमा संलग्नहरुलाई कारबाही नहुन्जेलसम्म विद्यालयको दैनिक पठनपाठन गर्न शिक्षकलाई अफ्ठ्यारो भएका कारण शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्मका लागि पठनपाठन बन्द गरिएको छ ।’

यसैबीच शिक्षक बोहरामाथि भएको आक्रमणको विरोधमा नेपाल राष्ट्रिय शिक्षक संगठनले विज्ञप्ति जारी गरेको छ । संगठनका अध्यक्ष श्यामप्रसाद जोशी र सचिव दीपेन्द्रबहादुर खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘कक्षा कोठामा अध्यापन गराइरहेको अवस्थामा शिक्षक बोहरामाथि एसिड, मोबिल आक्रमण र कुटपिट भएको घटनाप्रति नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति बझाङ घोर आपत्ति जनाउँदछ । साथै उक्त अपराधिक कार्यमा संलग्न सबैलाई कडा कारबाहीकाे जोडदार माग गर्दछौँ ।’



त्यसगरी नेपाल राष्ट्रिय शिक्षक संगठन छविस पाथिभेरा गाउँ कमिटीले पनि यसमा संलग्नहरुलाइ कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेको छ ।
  
यसैबीच उक्त घटनाका जिम्मेवारी नेपाल कम्युनिष्ट पार्टीले लिएको छ । विद्यालयमा विगतमा प्रअ भएर काम गर्दा आर्थिक अनियमिततालगायत विभिन्न क्रियाकलापमा संलग्न रहेको र पार्टीको निर्धारित काममा बाधा पुर्याएका कारण बोहरालाई जनकारबाही  गरिएको विप्लव नेतृत्वको नेकपा बझाङले विज्ञप्तिमार्फत जवाफ दिएको छ ।



  • प्रकाशित मिति : कात्तिक २८, २०७९ साेमबार १८:५९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया