सूर्य थापालाई निर्वाचन आयोगको प्रश्न : भेलु बाजेलाई पैसा दिएको भए तपाईंलाई किन कारबाही नगर्ने ?

निर्वाचन आयोगले प्युठानबाट नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सूर्य थापालाई मतदातालाई पैसा बाँडेको आरोपमा स्पष्टीकरण सोधेको छ।

थापाले ‘भेलु बाजे’ नामले चर्चित मीनबहादुर बुढालाई दुई हजार रुपैयाँ दिएर आफ्नो निर्वाचन प्रचारप्रसार गराएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएको थियो । सोही समाचार प्रकाशन भएकोप्रति ध्यानाकर्षण भई स्पष्टीकरण सोधिएको आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

भेलु बाजेले आफूलाई दुई हजार दिएर चुनाव प्रचार गर्न लगाएको अभिव्यक्ति दिएका थिए। भेलु बाजेको उक्त अभिव्यक्तिले आयोगले आफ्नो ध्यानाआर्कषण भएको उल्लेख गरेको छ। 

कुनै व्यक्ति वा संस्थालाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने बताउँदै आयोगले थापालाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ।

आयोगले स्पष्टीकरणमा सोधेको छ, ‘निर्वाचन आचारसंहितामा भएको व्यवस्था प्रतिकूल हुनेगरी तपाईंले मीनबहादुर बुढा (भेलु बाजे)लाई नगद वितरण गर्नुभएको हो, होइन ? तपाईंले निज भेलु बाजेलाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई किन कारबाही हुनु नपर्ने हो ? यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा वा जिल्ला निर्वाचन कार्यालय प्युठानमा प्राप्त हुनेगरी लिखित स्पष्टीकरण पेस गर्नुहुन निर्णयानुसार निर्देशन दिइएको छ ।’ 





  • प्रकाशित मिति : मंसिर २, २०७९ शुक्रबार १८:३७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया