संसदीय समितिमा कड्किए अमरेश– समिति सरकारको भ्रातृसंगठन बन्यो, यस्तै हो भने चेन्ज गरेर जान्छु

काठमाडौं– कांग्रेस नेता तथा संसद्को राज्य व्यवस्था तथा सुशासन समिति सदस्य अमरेशकुमार सिंहले सो समिति सरकारको भातृसंगठनजस्तो बनेको भन्दै आक्रोश पोखेका छन् । 

आइतबार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्न भन्दै बोलाइएको समितिको बैठकमा समिति सदस्य सिंहले जनसरोकारको विषयमा छलफल गर्न नभई सरकारलाई चाहिएका वेला मात्रै बैठक बोलाइएको भन्दै आक्रोश पोखेका हुन् । 

समितिमा जनसरोकारको विषयमा छलफल हुनुपर्नेमा जोड दिँदै सिंहले प्रश्न गरे, ‘खालि विधेयक आएको वेला मात्रै समिति बस्ने र त्यसैमा मात्रै छलफल गर्ने ?’ समितिमा आएका विधेयकमाथिको छलफल लम्ब्याउने काम भइरहेको उनको गुनासो छ ।

अहिलेकै अवस्थामा समिति अघि बढिरहने हो भने आफू समितिमा नबस्ने चेतावनी दिँदै उनले भने, ‘यस्तै हो भने म समिति चेन्ज गरेर जान्छु ।’ 

‘म सरकारको भातृसंगठनको सदस्य भएर बस्न चाहन्न,’ समिति सरकारको भातृसंगठन बनेको आरोपसहित उनले भने । 

नागरिकता विधेयक वा राष्ट्रिय परिचयपत्रका विषयमा छलफल हुँदा नेपालको राष्ट्रियता लिएर कोही भाग्ला भन्ने ढंगले छलफल हुने गरेको भन्दै उनले असन्तुष्टि पोखे ।



‘जो बढी राष्ट्रवादको चर्चा गरिरहेछ, उसैले राष्ट्रलाई बेचेको छ,’ टाठाबाठाले नै नेपालको राष्ट्रियता बेचिरहेको आरोप लगाउँदै उनले थपे, ‘हुनेखाने, एनजिओबाट डलर लिनेले नदीनाला बेचेको छ । हुम्ला जुम्लाका गरिबहरु र विश्वकर्माले राष्ट्र बेचेको छैन ।’



  • प्रकाशित मिति : माघ २८, २०७५ साेमबार २१:२४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया