विराटनगरको डुबान समस्या समाधानका लागि सम्भाव्यता अध्ययन सुरु

विराटनगरलाई डुबानबाट मुक्त गराउन विराटनगर महानगरपालिकाले सम्भाव्यता अध्ययन सुरु गरेको छ ।
 
डुबान समस्याको दीर्घकालीन समाधान खोज्न महानगरले एसियाली विकास बैंक (एडिबी)को सहयोगमा वर्षातको पानीले हुने डुबान व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन सुरु गरेको हो । 

वर्षाको पानी सहज निकास नहुँदा हरेक वर्षायाममा विराटनगर डुबानमा पर्ने गरेको छ । महानगरलाई वैज्ञानिक रुपमै डुबानबाट मुक्त गर्न एडिबीको सहयोगमा सम्भाव्यता अध्ययन सुरु गरेको मेयर नागेश कोइरालाले जानकारी दिए । मेयर कोइरालाको नेतृत्वमा सोमबार अध्ययन टोलीले महानगरका डुबानग्रस्त विभिन्न वडाको स्थलगत निरीक्षण गरेको छ । 

आरयुडिपी प्रोजेक्टअन्तर्गतको स्मेक डिएमले वर्षातको पानी व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन सुरु गरेको मेयर कोइरालाले बताए । विराटनगरमा जम्ने पानीलाई कसरी सिंघिया र केसलिया खोलामा लगेर व्यवस्थापन गर्न सकिन्छ भनेर एडिबीका कन्सलट्यान्टहरूबाट अध्ययनको सुरुवात गरिएको उनको भनाइ छ । 

त्यस्तै पुराना पैनीहरू घोगा, बस्ता, धुदुवा, च्याङबारी, मर्लीखोलालगायतको पानीलाई पनि मूलखोलामा पुर्याएर वर्षाको पानीलाई व्यवस्थापन गर्ने महानगरको योजना छ ।

मेयर कोइरालाले वैज्ञानिक ढंगले व्यवस्थापन नगरेसम्म महानगरको डुबान समस्या समाधान नहुने बताए । उनले प्राविधिक टोलीलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्न आग्रह गरिएको सुनाए । 

स्मेक डिएमका टिम लिडर डा. शेख जाबेद मोहम्मदसहितको प्राविधिक टोलीले सम्बन्धित वडामा पुगेर पानीको निकासका विषयमा सूक्ष्म अध्ययन गरेको छ । टोलीले अध्ययनपछि विस्तृत प्रतिवेदन तयार पार्नेछ । 



प्राविधिकसहितको टोलीले विराटनगर वडा नम्बर ३, १५, १७, १८ र १९ मा पुगेर स्थलगत अध्ययन गरेको छ । प्राविधिक टोलीले खोला र पैनीको वर्षातको समयमा हुने अवस्थाबारे स्थानीसितसमेत कुराकानी गरेको थियो । महानगरका डुबान समस्या भएका अन्य वडाको पनि अध्ययन गर्नेछ । 
 



  • प्रकाशित मिति : मंसिर २७, २०७९ मंगलबार १९:८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया