कांग्रेसले कहिले सुरु गर्दै छ संसदीय दलको नेता चुन्ने प्रक्रिया ?

४ मंसिरमा भएको निर्वाचनको सम्पूर्ण नतिजा निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको छ । यो निर्वाचनमा सबैभन्दा ठूलो दल भएको नेपाली कांग्रेसमा अब संसदीय दलको नेता को हुने भन्ने चर्चा चुलिन थालेको छ । 

प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरेर ८९ सिटमा जित दर्ज गरेको नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्ने प्रक्रिया यसपटक किन बढी चासोका साथ हेरिएको हो भने कांग्रेसमा यसका लागि आकांक्षी ४ जनाभन्दा बढी देखिएका छन् ।

निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण नतिजा राष्ट्रपतिसमक्ष पेश गरे पनि समानुपातिकबाट चुनिएका सांसदहरुलाई ३ पुसमा प्रमाण पत्र दिने कार्यक्रम राखेको छ । त्यही दिन नै नेपाली कांग्रेसले यो प्रक्रिया सुरु गर्ने बताइएको छ ।

यसपटक कांग्रेसको संसदीय दलको नेता चयन चुनावबाट हुने निश्चित देखिएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले फेरि संसदीय दलमा दोहोरिने योजना बनाएका छन् । उनी संसदीय दलको नेतामा चुनिएपछि प्रधानमन्त्री बन्ने तरखरमा छन् । उनलाई चुनौती दिँदै छन्, १४ औं महाधिवेशनमा उनीविरुद्ध सभापतिमा लडेका डा. शेखर कोइरालाले ।

कोइरालाको क्याम्पबाट यसपटक संसदीय दलको नेतामा महामन्त्री गगनकुमार थापा पनि आकांक्षी रहेका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माको साथ पाएका थापाले आफू जसरी पनि संसदीय दलको चुनावमा उम्मेदवार हुने बताएका छन् । त्यसका लागि उनले तयारीसमेत सुरु गरिसकेका छन् ।

यसपटक संसदीय दलको नेतामा कांग्रेसका अर्का नेता रामचन्द्र पौडेलले पनि चासो दिएका छन् । अब देशको प्रधानमन्त्री आफू हुनु पर्ने भन्दै पौडेलले संसदीय दलको नेता चयनमा आफूलाई सहयोग गर्न केही दिनअघिको भेटमा देउवालाई समेत आग्रह गरेका थिए । तर, देउवाले उनलाई यस विषयमा अहिलेसम्म स्पष्ट जवाफ दिएका छैनन् ।



कांग्रेसको संसदीय दलको नेतामा काठमाडौं १ बाट निर्वाचित प्रकाशमान सिंहले पनि चासो देखाएका थिए । तर, पछिल्लो समय उनले यसमा देउवालाई समर्थन गर्न सक्ने सम्भावना बढी भएको कांग्रेसका एक नेताले फरकधारलाई बताए । ‘प्रकाशमान दाइले पछिल्लो समय यसलाई प्राथमिकतामा राखेजस्तो लाग्दैन,’ नेपाली कांग्रेसका सांसदसमेत रहेका ती नेताले भने, ‘देउवा, कोेइराला र थापाले संसदीय दलमा दाबी गरिरहेका छन्, यी तीनबीच नै संसदीय दलको नेताका लागि निर्वाचन हुने सम्भावना छ ।’

कांग्रेस विधानअनुसार संसदीय दलको नेता हुन ५१ प्रतिशत मत ल्याउनुपर्छ। ५१ प्रतिशत मत नल्याए फेरि चुनाव गर्ने व्यवस्था छ । 



  • प्रकाशित मिति : पुस १, २०७९ शुक्रबार १३:३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया