logo-img

कांग्रेसले थाल्यो संसदीय दलको निर्वाचनका लागि तयारी
फाइल तस्बिर

नेपाली कांग्रेसले पार्टीको संसदीय दलको निर्वाचनका लागि तयारी गर्दैछ । कांग्रेसले त्यसका लागि समिति बनाउन लागेको हो । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने बैठकले सो समिति गठन गर्ने बताइएको छ ।

बैठकमा संसदीय दलको निर्वाचनका लागि समिति बनाउनेलगायत कार्यसूची रहेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बस्ने बैठकमा निर्वाचनपछिको समीक्षा, समसामयिक राजनीतिकलगायत विषयमा समेत छलफल हुनेछ ।

कांग्रेसको विधानको दफा ४० मा पार्टीको संसदीय दल गठनसम्बन्धी व्यवस्था छ । सङ्घीय संसद्मा रहेका पार्टीका सांसदहरू कांग्रेस संसदीय दलका सदस्य हुन्छन । यसैगरी संसदीय दलमा प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने विधानमा व्यवस्था छ ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ ।

सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा पाँच दलीय सत्तागठबन्धनको नयाँ सरकार गठनका लागि कसरत गरिरहेको छ । साथै कांग्रेसमा संसदीय दलको नेताको निर्वाचनको तयारीको पनि सुरु भएको छ । यसैगरी निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरी बिहीबार राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको चर्चा सुरु भएको छ । 





  • प्रकाशित मिति : पुस ३, २०७९ आइतबार १३:४६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया