नेपाली कांग्रेसको संसदीय दलको नेतामा संस्थापन इतर समूहबाट महामन्त्री गगन थापाले उम्मेदवारी बन्ने भएका छन् । नेता शेखर कोइरापक्षसँगको भएको समझदारीअनुसार थापा संसदीय दलको निर्वाचनमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवार बन्ने भएका हुन् ।
उनको प्रस्तावकमा शेखर कोइराला तथा समर्थकमा धनराज गुरुङ र विश्वप्रकाश शर्मा रहेका छन् । संस्थापनइतर समूहबाट यसअघि नेता कोइराला र थापा संसदीय दल नेताका लागि उम्मेदवार हुन खोजेका थिए । तर, आज बिहान भएको दुई पक्षबीचको छलफलपछि शेखरले गगनलाई साथ दिन तयार भएका हुन् ।
संसदीय दलको नेताका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म सिंहदरबारस्थित दलको कार्यालयमा मनोनयन दर्ता गरिसक्नुपर्ने कार्यतालिका छ। आजै साढे ३ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुनेछ ।
बेलुका ४ बजेसम्म उम्मेदरवारविरुद्ध उजुरी दिन पाइनेछ भने साढे ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन पाइनेछ ।
त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन मंगलबार बेलुकी पौने ६ बजे हुने कार्यतालिका निर्धारण गरिएको छ । मतदान भने बुधबार बिहान ८ देखि १० बजेसम्मको समय तोकिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।