मधेस प्रदेशको सत्ता समीकरणमा पनि हेरफेर

केन्द्रमा नयाँ सरकार गठनका लागि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीसहित सातवटा दलबिच सहमति भएसँगै मधेस प्रदेशको सत्ता समिकरणमा पनि हेरफेर हुने भएको छ । 

केन्द्र सरकारको नेतृत्वका लागि पाँचदलीय सत्ता गठबन्धन भत्किएसँगै मधेस प्रदेशसभाको पहिलो कार्यकालको तुलनामा यसपटक दलहरूको अंकगणितमा फेरबदल भएको हो ।

नयाँ सरकार गठनका लागि प्रतिनिधिसभामा नेकपा एमालेका ७८, नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्ति पार्टीको ४ सिट रहेको छ ।

यता, प्रत्यक्ष निर्वाचित ६४ र समानुपातिकतर्फ ४३ गरी कुल १०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार निर्माणका लागि ५४ जना सांसद हुँदा बहुमत पुग्छ । मधेस प्रदेशसभामा एमालेको २३, माओवादी केन्द्रको ८, राप्रपाको १, जसपाको १६, जनमत पार्टीको १३ र नागरिक उन्मुक्ति पार्टीको १ सिट छ ।
 
संघमा गठबन्धन गरेका कारण यी दलबीच मधेस प्रदेशमा पनि तालमेल भएमा सहजै सरकार गठन हुन सक्ने देखिन्छ । मधेसमा एमाले, माओवादी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति मिल्दा प्रदेशसभा सदस्यहरूको संख्या ६२ हुन्छ ।
 
१० वटा दलको प्रतिनिधित्व रहेको मधेस प्रदेशसभामा नेपाली कांग्रेस, लोसपा, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी र स्वतन्त्र निर्वाचित ६ जना सांसद प्रतिपक्षमा बसे पनि सरकार बन्ने अवस्था मजबुत छ ।
 
यसअघिको कार्यकालमा जसपा पहिलो, नेपाली कांग्रेस दोस्रो, लोसपा तेस्रो, नेकपा एकीकृत समाजवादी पार्टी चौथो, नेकपा एमाले र नेकपा माओवादी पाँचौ दलको रुपमा थियो ।

२०७४ को निर्वाचनमा सबैभन्दा ठूलो दलको रूपमा रहेको जसपाको ३७, नेपाली कांग्रेसको १९, लोसपाको १६, नेकपा एकीकृत समाजवादीको १३, नेकपा एमालेका ८, नेकपा माओवादी केन्द्रका ८ र नेपाल संघीय समाजवादी पार्टीको एकजना सांसद थिए ।

२०७४ को निर्वाचनमा ६ वटा दलको प्रतिनिधित्व हुँदा पछि एमाले विभाजन भएपछि ७ दलको प्रतिनिधित्व रहेको थियो । २०७९ को निर्वाचनमा मधेस प्रदेशसभामा एमालेले प्रत्यक्षमा १५ र समानुपातिक ८ गरी २३ सिट पाएर पहिलो दल बनेको छ ।



यस्तै, नेपाली कांग्रेस प्रत्यक्षमा १३ र समानुपातिकमा ९ गरी २२ सिट पाएर दोस्रो, जनता समाजवादी पार्टी प्रत्यक्षमा ९ र समानुपातिकमा ७ गरी १६ सिट पाएर तेस्रो, जनमत पार्टी प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी १३ सिटसहित चौथो दल बनेको छ ।

यस्तै, लोसपाले प्रत्यक्षमा ७ र समानुपातिकमा २ गरी ९ सिट पाएर पाँचौँ, माओवादी केन्द्र प्रत्यक्षमा ४ र समानुपातिकमा ४ गरी ८ सिट पाएर छैठौं तथा एकीकृत समाजवादी प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी ७ सिट पाएर सातौँ दल बनेको छ ।
 
मधेस प्रदेशसभामा राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकमा १–१ सिट पाएका छन् भने यसपटक ६ जना स्वतन्त्र उम्मेदवारहरू पनि निर्वाचित भएका छन् ।



  • प्रकाशित मिति : पुस १०, २०७९ आइतबार १७:५३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया