तराईमा बढ्यो जाडो : जनकपुरधामका मुख्य चोकहरूमा मिलाइयो आगो ताप्ने व्यवस्था

जनकपुरधाम उद्योग वाणिज्य संघले बिहीबारदेखि नगरका चोकचोकमा दाउरा बाल्न सुरु गरेको छ । अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भएसँगै जनकपुरधाम उद्योग वाणिज्य संघले विभिन्न निकायहरूको समन्वयमा नगरका चोकहरूमा दाउरा बाल्न सुरु गरेको हो । 

बजारमा किनमेलका लागि निस्कने मानिसलाई जाडोले मुस्किल परेको र बाहिरबाट आउने पर्यटकहरू पनि प्रभावित भइरहेको अवस्थालाई दृष्टिगत गर्दै नगरका चोकचोकमा दाउरा बाल्न थालिएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए । 

अत्याधिक चिसो र शितलहर भएपछि नगरबासीलाई राहत पुगोस् भन्ने उद्देश्यले मुख्य चोकहरूमा दाउरा वितरणसहित आगो ताप्ने व्यवस्था गरिएको उनले बताए । उनले बिहीबार पहिलो दिन ६ ठाउँमा मात्र दाउरा बालिएपनि आगामी दिनमा जाडोको अवस्थालाई मध्यनजर गर्दै नगरभित्रका अधिकांश स्थानमा यस्तो व्यवस्था मिलाइने बताए । 

जनकपुरधाम उपमहानगरपालिका, जनकपुरधाम उद्योग वाणिज्य संघ, विपद् व्यवस्थापन समिति, सशस्त्र प्रहरी बल धनुषा, नेपाल पत्रकार महासंघ धनुषाको समन्वयमा दाउरा बालिएको उनले जानकारी दिए । अध्यक्ष महासेठले जाडो अवधिभरका लागि यसलाई निरन्तरता दिइनेसमेत बताए । 

विगतका वर्षहरूमा पनि जिल्ला वन कार्यालयसँग समन्वय गरेर ठाउँ ठाउँमा अगेना बाल्ने कार्य गरिन्थ्यो । बुधबारदेखि तराईमा शितलहरको प्रकोप सुरु भएको छ । 





  • प्रकाशित मिति : पुस १४, २०७९ बिहीबार १४:१६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया