काठमाडौंका विभिन्न नाकाबाट ठूलो परिमाणको लागुऔषधसहित १० पक्राउ

अवैधरुपमा लागुऔषध बिक्री तथा ओसारपसार नियन्त्रणका लागि काठमाडौंको सीमानाकामा प्रहरीले उच्च निगरानी बढाएको छ । पछिल्लो एक सातामा मात्रै प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित १० जनालाई पक्राउ गरेको छ ।

उनीहरूको साथबाट खैरो हेरोइन ७४ ग्राम, नाइट्राभेट चार हजार पाँच सय ट्याब्लेट र एक सय ५५ दशमलव ५ ग्राम चरेस बरामद गरेको प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो काठमाडौंका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए। उनका अनुसार उनीहरुको साथबाट नुफ्रिन एक हजार एम्पुल, डाइजेपाम एक हजार एम्पुल र फेनारगन पनि एक हजार एम्पुल बरामद गरिएको छ ।

पछिल्लो केही दिनदेखि लागुऔषध कारोबार तथा तस्करी नियन्त्रण र अनुसन्धानमा खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न नाकामा खोजी अभियान चलाउँदा लागूऔषधसहित पक्राउ परेका उनीहरूलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको खड्काले बताए ।

प्रहरीका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ लालीगुराँस टोल बस्ने सुजन कार्कीको साथबाट तीन सय मिलीग्राम र डेराबाट ६७ दशमलव ७ ग्राम गरी जम्मा ६८ ग्राम खैरो हेरोइनसहित दुई थान तराजु बरामद गरिएको थियो । अनुसन्धानका क्रममा उनलाई प्रदीप राइले लागूऔषध बिक्री गर्न पठाएको खुलेको थियो । उनी झापामा रहेको थापा पाएपछि ब्युरोको काँकडभिट्टा शाखाले पुस १८ गते पक्राउ गरी काठमाडौं पठाएको हो ।

सोही दिन साँझ विशेष सूचनाका आधारमा ब्युरोको अर्को टोलीले काठमाडौं महानगरपालिका–९ शम्भु मार्गमा खोजी अभियान चलाउँदा धनुषाका रेश्मा देवीको साथबाट छ ग्राम खैरो हेरोइन बरामद गरी उनलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

सोही दिन ठूलो परिमाणको लागुऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो । पर्यटकलाई पिछा गर्दै गर्दा ‘टुर गाइड’मा काम गर्ने गोरखाका ओमनारायण श्रेष्ठ, मसाज सेन्टरमा काम गर्ने सुरेन्द्र नेपाली र विकास परियारलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।



त्यस्तै, लुकाइछिपाइ लागुऔषध ओसारपसार गरेको चाल पाएको नेपाल प्रहरीको संयुक्त टोलीले काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुंगामा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना६ख ७०३६ बसमाथि खानतलासी गर्दा वीरगञ्जका ५० वर्षीय सविना खातुन, सहनाज खातुन र शेष अमिरलाई पक्राउ गरेको थियो । उनीहरू प्रहरीले खानतलासी थालेपछि नागढुंगाबाट भाग्दै गर्दा पक्राउ गरेका हुन् ।

उता, काठमाडौंको गोकर्णेश्वरबाट रोशन श्रेष्ठ र मनोज लामालाई पनि लागुऔषध कोडिनसहित पक्राउ गरिएको र उनीहरुको सन्दर्भमा प्रहरीवृत्त बौद्धले अनुसन्धान गरिरहेको जनाइएको छ ।



  • प्रकाशित मिति : पुस २०, २०७९ बुधबार २०:३६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया