बुटवल उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशन सुरु

बुटवल उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशन सुरु भएको छ । नगरसभाको बैठकलाई सम्बोधन गर्दै नगरप्रमुख खेलराज पाण्डेयले चालू आर्थिक वर्षका लागि तय भएका योजना समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिने बताए ।
 
उनले नगरका जनप्रतिनिधि र कर्मचारीले अधिकतम समय योजना सम्पन्न गर्न र व्यवस्थित सेवा प्रवाह गर्नतर्फ ध्यान दिने बताए । उनले भने, ‘चालू आर्थिक वर्षमा सम्पन्न गर्ने भनिएका सबै योजना चालू आर्थिक वर्षभित्रै पूरा गरी आउँदो वर्षमा नयाँ योजना, नयाँ शैली र नयाँ अभियानका साथ अघि बढ्नेछौँ ।’ 

चालु आर्थिक वर्षमा हासिल भएका उपलब्धि र प्रयासको ३५ बुँदा प्रस्तुत गर्दै उनले बुटवल उपमहानगरपालिका वडा नं. १३ र १७ मा १६–१६ बेडका अक्सिजनसहितका दुई अस्पताल स्थापना गर्ने काम अघि बढेको बताए । 

उनले उज्यालो बुटवल अभियानअन्तर्गत बुटवलका ५२ वटा स्थानमा उच्च क्षमताका सडक बत्ती जडान, संघीय सरकारबाट प्राप्त हुने विशेष अनुदानका लागि बुटवलका पछाडि परेका ६ वटा विद्यालयको स्तरोन्नतिलगायत कामका लागि नगरले अगुवाइ गरिरहेको बताए ।

नगरप्रमुख पाण्डेयले गत वर्षायाममा बुटवलमा बाढीपहिरोबाट क्षति हुनबाट जोगाइएको र आगामी वर्षामा समेत जोखिम न्यूनीकरणका लागि प्रयास भइरहेको बताए ।

नगरप्रमुखले प्रस्तुत गरेको प्रगति विवरणमा बुटवलको ठेला व्यवस्थापन, इरिक्सा व्यवस्थापन गर्ने काम जारी रहेको र छाडा चौपाया व्यवस्थापनका लागि कार्यविधि तयार गरी प्रक्रिया अघि बढाएको बताए । उनले रोजगारदाता र रोजगारप्राप्त गर्ने व्यक्तिबीच समन्वय र श्रमसम्बन्धि सहजीकरणका लागि श्रम बैंक स्थापनाको काम अघि बढेको बताए । 

बुटवलको बस्तीमाथि रहेको विद्युत् प्रसारण लाइन बस्तीक्षेत्रबाट हटाउन र बुटवलमा विद्युतीय तार भूमिगत बनाउनका लागि नेपाल विद्युत् प्राधिकरणसँग छलफल गरी आवश्यक प्रक्रिया अघि बढाएको, बुटवलको खानेपानी समस्या समाधानका लागि हिलपार्कमा खानेपानी ट्यांकी निर्माण गर्ने र चिडियाखोला खानेपानीको निर्मलीकरण गर्ने गरी प्लान्ट स्थापना गर्नका लागि सर्भे गर्ने काम अघि बढेको उनले बताए ।



नगरसभाको बैठकमा स्वास्थ्यसम्बन्धी ऐन पहिलो संशोधनको प्रस्ताव विधायन समितिका संयोजक नरेन्द्र बस्नेतले टेबुल गरे । बस्नेतले प्रस्ताव टेबुल गरेपछि बैठक माघ ११ गतेसम्मका लागि स्थगित भएको छ । 



  • प्रकाशित मिति : पुस २१, २०७९ बिहीबार १९:१६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया