मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

जनता समाजवादी पार्टी नेपालको संसदीय दलका नेता सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

प्रदेशको दोस्रो मुख्यमन्त्रीमा नियुक्त यादव बाराको १ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । प्रदेश प्रमुख मिश्रले यादवलाई बुधबार दिउँसो मुख्यमन्त्री नियुक्त गरेका छन् ।

प्रदेशसभामा रहेका नेकपा एमालेका २३, जसपाका १६, जनमत पार्टीका १३, माओवादी केन्द्रका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका १÷१ र स्वतन्त्र प्रदेशसभा सदस्यहरु सुरिता साह एवम् अनिरुद्ध सिंहसहित कुल ६३ जना प्रदेशसभा सदस्यको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।

प्रदेशसभामा रहेका १०७ सदस्यमध्ये सरकार बनाउन ५४ सदस्य आवश्यक पर्नेमा ६३ जनाको समर्थनमा यादवको दाबी पेश भएको थियो । सोही अनुसार यादव मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रदेशसभामा कुनै पनि दलको बहुमत नपुगेपछि दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउन प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते मध्यान्ह ४ बजेसम्मको समय दिएका थिए । सो समय अगावै दलहरुले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दावी पेश गरेका थिए ।



मुख्यमन्त्री यादवको सपथ भने बिहीबार मात्र हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । यादवले बिहीबार नै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्नेछन् । 



  • प्रकाशित मिति : पुस २७, २०७९ बुधबार १३:४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया